फरहान र फखरको कीर्तिमानी प्रदर्शनका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर, न्युजिल्याण्ड सेमिफाइनलमा

फागुन १७

साहिबजादा फरहानको ऐतिहासिक शतक र फखर जमानको विष्फोटक ब्याटिङको मद्दतले पाकिस्तानले टी-२० विश्वकप २०२६ को सुपर-८ को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ५ रनले त हरायो, तर सेमिफाइनलमा पुग्न सकेन।

पाकिस्तान बाहिरिएसँगै समूह ‘२’ बाट न्युजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि नै इंग्ल्याण्ड र दक्षिण अफ्रिका नकआउट चरणमा पुगिसकेका छन्।

पहिले ब्याटिङ गरेको पाकिस्तानले फरहानको सय रन र फखरको ८४ रनको मद्दतले ८ विकेटको क्षतिमा २१२ रन बनाको थियो। जवाफी ब्याटिङ गरेको श्रीलंकाले दासुन शनाकालेको नटआउट ७६ रनको मद्दातले ६ विकेटको क्षतिमा २०७ रन जोड्दा ५ रनले मात्र पराजित भयो।

सेमिफाइनल पुग्न पाकिस्तानले यो खेल करिब ६५ रनको अन्तरले जित्नुपर्ने थियो। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान साहिबजादा फरहान र फखर जमानले सानदार सुरुवात गरे। उनीहरूले पहिलो विकेटका लागि १७६ रनको साझेदारी गरे, जुन टी-२० विश्वकप इतिहासकै कुनै पनि विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो।

फरहानले ५९ बलमा शतक प्रहार गरे। यो उनको यसै विश्वकपको दोस्रो शतक हो। यसका साथै उनले एउटै विश्वकपमा विराट कोहलीको नाममा रहेको धेरै रन (३१९ रन) को रेकर्ड समेत तोडे। फरहानले यस प्रतियोगितामा कुल ३८३ रन बनाए। फखर जमानले पनि मात्र ४२ बलमा ८४ रनको विष्फोटक पारी खेले। तर अन्तिम ४ ओभरमा पाकिस्तानले लय गुमायो र ३५ रन जोड्दा ७ विकेट गुमाएपछि टोली २१२ रनमा सीमित भयो।

पाकिस्तानलाई सेमिफाइनल पुग्न श्रीलंकालाई १४७ रनभन्दा कममै रोक्नुपर्ने थियो। तर श्रीलंकाले १६ औं ओभरमै त्यो स्कोर पार गरेपछि पाकिस्तानको सेमिफाइनल सपना समाप्त भयो।

श्रीलंकाका लागि कप्तान दासुन शनाकाले विष्फोटक ब्याटिङ गर्दै खेललाई अन्तिमसम्म रोमाञ्चक बनाए। अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि २८ रन चाहिएको थियो। शनाकाले शाहिन शाह अफ्रिदीको पहिलो चार बलमा एक चौका र लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम दुई बलमा ६ रन मात्र चाहिएको थियो।

पाँचौ बलमा अफ्रिदीले ‘वाइड’ फाल्न खोजे तर शनाकाले सट खेल्न सकेनन्। अन्तिम बलमा पनि अफ्रिदीले बाहिर बल फाले, जसलाई शनाकाले ‘वाइड’ होला भनेर छोडिदिए। तर अम्पायरले त्यसलाई सही बल मानेपछि श्रीलंका ५ रनले पराजित भयो। शनाका ३१ बलमा ७६ रन बनाएर अविजित रहे।

खेल पाकिस्तानले जिते पनि ठूलो अन्तरले जित्न नसक्दा उनीहरू प्रतियोगिताबाट बाहिरिनु पर्यो। पाकिस्तानका लागि बलर अबरार अहमदले ३ विकेट लिए भने नसिम शाहले पनि सुरुवाती सफलता दिलाएका थिए। तर अन्ततः न्युजिल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply