काठमाडौँ, फागुन २२ गते । साविक विजेता भारत आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार राति भएको सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हरायो । उपाधिका लागि भारतले आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।
यसअघि पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएको छ । दुई पटक विश्वकपको उपाधि जितेको भारत चौथो पटक फाइनलमा पुगेको हो । अघिल्लो संस्करणको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो ।
जितका लागि दुई सय ५४ रनको चुतौती पूर्ण लक्ष्य पछ्याएको इङ्ल्यान्ड निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ४६ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि जेकोब बेथहेलले शतकीय इनिङ्स बनाएपनि टोलीको हार टरेन ।
एक सय पाँच रन बनाउनुभएको उहाँले ४८ बलमा आठ चौका र सात छक्का हान्नुभएको थियो । यस्तै विल ज्याक्सले ३५, जस बटलरले २५, साम करनले १८ र टम बेन्टनले १७ रन बनाउनुभयो ।
बलिङमा भारतका हार्दिक पाण्डेयले दुई तथा अर्शदिप सिंह, जसप्रित बुमराह, बरुण चक्रवर्ती र अक्षर पटेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन बनाएको थियो । भारतका लागि सन्जु सामसने सर्वाधिक ८९ रन बनाउनुभयो । उहाँले ४२ बलमा आठ चौका र सात छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै शिभम् दुवेले ४३, इशान किशनले ३९, हार्दिक पाण्डेयले २७, तिलक बर्माले २१ र कप्तान सूर्यकुमार यादवले ११ रन बनाउनुभयो । बलिङमा इङ्ल्यान्डमा विल ज्याक्स र आदिल राशिदले दुई दुई तथा जोफ्रा आर्चरले एक विकेट लिनुभयो ।
