फागुन २५
भारतको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार एउटा नयाँ इतिहास लेखियो।
सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा भोगेको हारको पिडालाई बिर्सिँदै भारतले न्युजिल्यान्डलाई ९६ रनको विशाल अन्तरले हराएर २०२६ को टी-२० विश्वकप जित्यो।
योसँगै भारत लगातार दुई पटक टी-२० विश्वकप जित्ने विश्वकै पहिलो टोली बनेको छ। साथै, भारत तीन पटक यो उपाधि जित्ने पनि पहिलो देश बनेको छ। साथै कुनै पनि टोलीले घरेलु मैदानमा पहिलो पटक टी-२० विश्वकप जितेको अर्को इतिहास बनेको छ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो। यो टी-२० विश्वकपको फाइनलमा बनेको अहिलेसम्मकै ठूलो स्कोर हो।
युवा ओपनर अभिषेक शर्माले २१ बलमा ५२ रन र सन्जु सामसनले ४६ बलमा ८९ रनको आक्रामक पारी खेले। इशान किशनले पनि २५ बलमा ५४ रन जोडे।
२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमै समेटियो। न्युजिल्यान्डका लागि टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए।
भारतका जसप्रित बुमराहले १५ रन दिएर ४ विकेट लिए। उनी टी-२० विश्वकप फाइनलमा ४ विकेट लिने पहिलो बलर बने। अक्षर पटेलले पनि ३ विकेट झट्काए।
भारतको यो सफलताको पछाडि मुख्य प्रशिक्षक गौतम गम्भीरको नयाँ सोच रहेको छ।
गम्भीरले जितपछि टोलीको सफलताको राज खुलाउँदै भने, ‘मेरो योजना प्रष्ट थियो- बढी जोखिम, बढी फाइदा। यदि तपाईं हार्न डराउनुहुन्छ भने कहिल्यै जित्न सक्नुहुन्न। हामी १६०-१७० रन बनाउनका लागि खेल्दैनौँ। बरु १०० रनमै अल-आउट हुनु ठीक छ, तर हामीले सधैँ २५० रन बनाउने लक्ष्य राख्यौँ। दक्षिण अफ्रिकासँग हामी १०० रनले हारेका थियौँ, तर पनि हामीले आफ्नो खेल्ने शैली बदलेनौँ।’
गम्भीरले आफ्नो यो सफलताको श्रेय पूर्व प्रशिक्षक राहुल द्रविड, भिभिएस लक्ष्मण, छनोटकर्ता अजित आगरकरलाई दिएका छन्।
यो विश्वकपमा ३२१ रन बनाउँदै ‘प्लेयर अफ द टूर्नामेन्ट’ बनेका सन्जु सामसनका लागि यो यात्रा सजिलो थिएन। उनले आफ्नो सफलताको श्रेय क्रिकेटका भगवान मानिने सचिन तेन्दुलकरलाई दिएका छन्।
सामसनले भावुक हुँदै भने, ‘२०२४ को विश्वकपमा म टोलीमा भएर पनि एउटा खेल खेल्न पाएको थिइनँ। केही समयअघि मेरो फर्म पनि राम्रो थिएन र म निकै निराश थिएँ। तर मैले हार मानिनँ। म लगातार सचिन सरसँग कुरा गर्थेँ। फाइनलको अघिल्लो रात पनि उहाँले मलाई फोन गरेर हौसला दिनुभएको थियो। उहाँको मार्गदर्शनले मलाई खेलप्रति स्पष्ट सोच र साहस दियो।’
