४० जिल्लामा रास्वपाको क्लिनस्वीप

फागुन २५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४० जिल्लामा एकलौटी जित हात पारेको छ।

२०७९ सालमा स्थापना भएको पार्टीले चार वर्षको छोटो अवधिमै असाधारण सफलता हासिल गरेको हो।

२०७९ सालको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको थियो।

फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ १२४ स्थान जितिसकेको छ। एक स्थानमा अग्रता छ।

साथै समानुपातिकतर्फ ३९ लाख ४ हजार ७४८ मत ल्याइसकेको छ। जबकि अघिल्लो निर्वाचनमा उसले ११ लाख २४ हजार ५५७ प्राप्त गरेको थियो।

२०६४ सालमा तत्कालीन नेकपा माओवादीले ३२ हाराहारी जिल्ला एकलौटी जितेको थियो। अहिले रास्वपाले ४० जिल्लामा एकलौटी जित हात पारेको हो।

यसपटकको निर्वाचनमा रास्वपाले कोशी, मधेस, पश्चिम तराई र सुदूरपश्चिमका तराईलगायत सहरी क्षेत्रको ठूला मताधार भएको स्थानमा एकलौटी जित हात पारेको छ।
रास्वपाले झापाको पाँचवटै क्षेत्र जित्यो। झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा रानामगर, झापा–३ बाट प्रकाश पाठक, झापा–४ बाट शम्भु ढकाल (सुस्केरा), झापा–५ बाट बालेन शाह निर्वाचित भए।

मोरङ–१ बाट यज्ञमणि न्यौपाने, मोरङ–२ बाट कृष्णकुमार कार्की, मोरङ–३ बाट गणेश कार्की, मोरङ–४ बाट सन्तोष राजवंशी, मोरङ–५ बाट आशा झा र मोरङ–६ बाट रूविना आचार्य निर्वाचित भइन्।

ओखलढुंगाबाट नेपाल प्रहरीको पूर्वअतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल निर्वाचित भए। उनले पाँच मतले परिणाम आफ्नो पक्षमा पारेका हुन्।

रास्वपाले उदयपुरका दुवै क्षेत्रमा जित हात पार्‍यो। उदयपुर–१ बाट पारशमणि गेलाल र उदयपुर–२ बाट सूर्यबहादुर तामाङ निर्वाचित भए।

यसपटक रास्वपाले मधेसमा असाधारण सफलता हासिल गर्‍यो।

अघिल्लोपटक रास्वपाले प्रत्यक्षतर्फ बागमती र गण्डकीतर्फमात्रै उपस्थिति जनाएको थियो। मधेसमा तुलनात्मकरूपमा कम मत ल्याएको थियो। यसपटक मधेसका ३२ मध्ये ३० सिटमा एकलौटी जित हात पारेको छ।

धनुषा रौतहटबाहेक मधेसका सबै जिल्ला क्लिनस्विप गरेको छ। धनुषा–१ मा विवादका कारण मतगणना सार्वजनिक भएको छैन। धनुषाका बाँकी तीनवटै क्षेत्र रास्वपाले जितिसकेको छ। क्षेत्र नम्बर २ मा रामविनोद यादव, ३ मा पार्टीका प्रवक्ता मनीष झा, क्षेत्र नम्बर ४ मा राजकिशोर महतो निर्वाचित भए।

सप्तरीका चार क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पुष्पा चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी, ४ बाट सिताराम साह निर्वाचित भए। सिराहा–१ बाट पूर्व युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता निर्वाचित भए। उनी सुशीला कार्की नेतृत्वको सरकारमा छोटो अवधिका लागि युवा तथा खेलकुद मन्त्री भएका थिए। उनी हन्ड्रेड ग्रुपका संस्थापक पनि हुन्। क्षेत्र नम्बर २ बाट शिवशंकर यादव, ३ बाट शम्भुकुमार यादव, ४ बाट रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादव निर्वाचित भए।

महोत्तरी–१ बाट प्रमोदकुमार महतो, २ बाट दीपककुमार शाह, ३ बाट उज्ज्वलकुमार झा, ४ बाट गौरीकुमारी निर्वाचित भइन्।

सर्लाहीका ४ वटै क्षेत्रमा रास्वपाले एकछत्र विजय हात पार्‍यो। सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापाले नै पराजय व्यहोरे। उनलाई यसअघि चारपटक सांसद भइसकेका नेपाली कांग्रेसकै पूर्वनेता अमरेशकुमार सिंहले पराजित गरे। सिंह गत माघ ५ गते मात्रै रास्वपा प्रविष्ट भएका थिए। कांग्रेसले टिकट नदिएपछि अघिल्लोपटक उनी माछा चिह्न लिएर स्वतन्त्र उठेका थिए। र, जितेका थिए।

सर्लाही–१ बाट नितिमा कार्की भण्डारी, २ बाट रबिन महतो, ३ बाट नरेन्द्र साह कलवार विजयी भए। बारा क्षेत्र नम्बर १ बाट गणेश धिमाल, २ बाट चन्दनकुमार सिंह, ३ बाट अरविन्द साह, ४ बाट रहवर अन्सारी विजयी भए। अन्सारी पूर्वनेकपा हुन्। उनी निर्वाचनको मुखैमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएर संघीय संसदको उम्मेदवार बनेका थिए।

पर्सा–१ बाट बुद्धिप्रसाद पन्त निर्वाचित भए। उनले पटकपटक मन्त्री बनेका र हालै मात्र जनता समाजवादी पार्टी नेपाल परित्याग गरी एमाले प्रवेश गरेका प्रदीप यादवलाई पराजित गरे। पर्सा–२ मा सुशीलकुमार कानू, ३ मा रामाकान्तप्रसाद चौरसिया, क्षेत्र नम्बर ४ मा टेकबहादुर शाक्य निर्वाचित भए। शाक्यले पनि कांग्रेसका पूर्वमन्त्री रमेश रिजाललाई पराजित गरे।

बागमती प्रदेशअन्तर्गत सिन्धुलीका दुवै क्षेत्र रास्वपाले जित्यो। सिन्धुली–१ बाट धनेन्द्र कार्की, २ बाट आशीष गजुरेल निर्वाचित भए। दोलखाबाट इन्जिनियरिङ पृष्ठभूमिका जगदीश खरेल निर्वाचित भए।

यसअघि वाम प्रभाव क्षेत्र मानिएको ललितपुरका तीनवटै क्षेत्र रास्वपाले जित्यो। जहाँ २०५१, २०५६ मा एमालेले तीनवटै सिट जितेका थिए। २०६४ मा तत्कालीन नेकपा (माओवादी), २०७० मा नेपाली कांग्रेस, २०७४ मा तत्कालीन वाम गठबन्धन (एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चासहितको) ले एकलौटी जितेका थिए। यसपटक रास्वपाले जितेको हो। ललितपुर–१ बाट जिल्ला सभापति बुद्ध महर्जन, २ बाट पूर्व सञ्चारमन्त्री जगदीश खरेल, ३ बाट पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की निर्वाचित भइन्।

यसपटक भक्तपुर–१ मा पनि रास्वपाले आश्चर्यजनक परिणाम ल्यायो। २०४८ सालदेखि भक्तपुर–१ मा जरो गाडेको नेपाल मजदुर किसान पार्टीलाई समेत पराजित गर्दै त्यहाँबाट रास्वपाका रूकेश रञ्जित निर्वाचित भए। भक्तपुर–२ बाट राजीव खत्री निर्वाचित भए।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले एकलौटी जित हात पार्‍यो। काठमाडौंमा २०५१ सालपछि एउटै पार्टीले सबै सिट जितेको हो। २०५१ सालमा एमालेले काठमाडौंका सबै सिट जितेको थियो। त्यतिबेला काठमाडौंमा ७ निर्वाचन क्षेत्र थियो।

काठमाडौं–१ बाट रञ्जु दर्शना, २ बाट सुनील केसी, ३ बाट राजुनाथ पाण्डे, ४ बाट पुकार बम, ५ बाट सस्मित आचार्य, ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली, ८ बाट विराजभक्त श्रेष्ठ, ९ बाट डोलप्रसाद अर्याल (डिपी), १० बाट जिल्ला सभापति प्रदीप विष्ट निर्वाचित भए। खनाल, पराजुली र श्रेष्ठ यसअघि सोही निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका थिए।

रास्वपाले धादिङका दुवै क्षेत्रमा जित हासिल गर्‍यो। धादिङ–१ बाट आशिका तामाङ र २ बाट बोधनारायण श्रेष्ठ निर्वाचित भए। मकवानपुरका दुवै क्षेत्र रास्वपाले जित्यो। मकवानपुर–१ मा प्रकाश गौतम, २ मा प्रशान्त उप्रेती विजयी भए।

रास्वपाको उद्भव थलो मानिएको चितवनमा यसपटक रास्वपाले तीनवटै क्षेत्र जित्यो। यहाँ अघिल्लो निर्वाचनमा रास्वपाले दुइटा (१ र २) क्षेत्र जितेको थियो। चितवन–१ मा हरि ढकाल, २ मा रवि लामिछाने, ३ मा सोविता गौतम निर्वाचित भइन्। गौतम अघिल्लो निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएकी थिइन्। त्यस्तै रामेछापबाट कृष्णहरि बुढाथोकी निर्वाचित भए।

त्यसो त काभ्रेपलाञ्चोकका दुवै क्षेत्र रास्वपाले जितेको छ। काभ्रे–१ मा मधु चौलागाईं र २ मा बदनकुमार भण्डारी निर्वाचित भए। नुवाकोटका पनि दुवै क्षेत्रमा रास्वपाले विजयी झण्डा फहराए। नुवाकोट–१ बाट विक्रम तिमिल्सिना, अच्युतम लामिछाने निर्वाचित भएका छन्।

गण्डकी प्रदेशअन्तर्गत रास्वपाले लमजुङ जित्यो। लमजुङमा धर्मराज केसी निर्वाचित भए। रास्वपाले तनहुँका दुवै क्षेत्र जित्यो। तनहुँ–१ बाट स्वर्णिम वाग्ले र २ बाट श्रीराम न्यौपाने निर्वाचित भए।

यसअघि वामगढ भनिएको कास्कीका तीनवटै क्षेत्र यसपटक रास्वपाले जित्यो। कास्की–१ मा खडक पौडेल (गनेश), २ का उत्तम पौडेल, ३ मा बिना गुरूङ निर्वाचित भएका छन्।

गण्डकीकै पर्वतमा पनि यसपटक रास्वपा विजयी भएको छ। पर्वतबाट सागर भुसाल निर्वाचित भए। बागलुङका दुवै क्षेत्र रास्वपाले जित्यो। बागलुङ–१ मा सुशील खड्का, २ मा सोम शर्मा निर्वाचित भए। नवलपरासी बर्दघाट सुस्तापूर्वका दुवै क्षेत्रमा रास्वपा नै निर्वाचित भयो। उक्त जिल्लाको क्षेत्र नम्बर १ मा राजन गौतम र २ मा मनीष खनाल निर्वाचित भए।

स्याङ्जाका दुवै क्षेत्र रास्वपाले नै जित्यो। क्षेत्र नम्बर १ मा धनञ्जय रेग्मी, २ मा झविलाल डुम्रे निर्वाचित भए। गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरूङ जितउन्मुख भएका छन्। क्षेत्र नम्बर २ मा पार्टीक महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीका दुवै क्षेत्र रास्वपाले जितेको छ। गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी भए। क्षेत्र नम्बर दुईमा गोविन्द पन्थी निर्वाचित भए।

रूपन्देहीका पाँचवटै क्षेत्र रास्वपाले जित हात पार्‍यो। रूपन्देही–१ बाट सुनील लम्साल, २ बाट सुलभ खरेल, ३ बाट डा.लेखजङ्ग थापा, ४ बाट कह्नैया बनिया, ५ बाट तौफिक अहमद खान निर्वाचित भए।

अर्घाखाँचीबाट हरिप्रसाद भूसाल निर्वाचित भए। प्यूठानबाट सुशान्त वैदिक निर्वाचित भए। रास्वपाले दाङका तीनवटै निर्वाचत क्षेत्र जित्यो। दाङ–१ बाट लुम्बिनी प्रदेश सभापति देवराज पाठक, २ बाट सहमहामन्त्री विपिनकुमार आचार्य, ३ बाट प्रशिक्षण विभाग सचिव कमल सुवेदी निर्वाचित भए। रास्वपाले बर्दिया पनि क्लिनस्वीप गर्‍यो।

बर्दिया–१ बाट ठाकुरसिंह थारू, २ बाट श्रीधर पोखरेल निर्वाचित भए। नवलपरासी बर्दघाट सुस्तापश्चिममा पनि रास्वपाले दुवै क्षेत्र जितेको छ। यस जिल्लाको १ बाट विक्रम खनाल, २ बाट नरेन्द्रकुमार गुप्ता निर्वाचित भए।

सुदूरपश्चिम प्रदेशअन्तर्गत् कैलालीका पाँचवटै क्षेत्रमा रास्वपा निर्वाचित भएको छ। कैलाली–१ बाट कोमल ज्ञवाली, २ बाट केपी खनाल, ३ बाट जगतप्रसाद जोशी, ४ बाट खेमराज कोइराला, ५ आनन्दबहादुर चन्द निर्वाचित भएका छन्।

कञ्चनपुरको तीनवटै क्षेत्रमा रास्वपा निर्वाचित भएको छ। क्षेत्र नम्बर १ जनकसिंह धामी, २ मा दीपक बोहरा, ३ मा ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन्।

कांग्रेसका पूर्वपार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराबाट रास्वपाका तारा जोशी निर्वाचित भएका छन्। त्यहाँ पहिलो पटक कांग्रेसबाहेकको पार्टीले जित हासिल गरेको हो। त्यहाँबाट सभापति देउवा २०४८ सालदेखि निर्वाचित हुँदै आएका थिए। यसपटक उनी उम्मेदवार थिएनन्।

एक निर्वाचन क्षेत्र रहेको बैतडी पनि रास्वपाले जित्यो। त्यहाँ रास्वपाका हरिमोहन भण्डारी निर्वाचित भए। यहाँबाट एमालेका दामोदर भण्डारी विजयी हुँदै आएका थिए। पूर्वमन्त्रीसमेत रहेका उनी यसपटक तेस्रो भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply