चैत १
प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई छिमेकी देशहरूहरूलाई निशाना नबनाउन आग्रह गरेको छ।
शनिबार वक्तव्य जारी गरी हमासले छिमेकी देशहरूमा आक्रमण नगर्न आग्रह गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
‘इरानका दाजुभाइहरूलाई छिमेकी देशहरूलाई निशाना नबनाउन अनुरोध छ,’ वक्तव्यमा हमासले भनेको छ।
यद्यपि इरानलाई अमेरिका-इसराइलको आक्रमणको जबाफ दिने अधिकार भने रहेको हमासले बताएको छ।
हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई तत्काल युद्ध रोक्न पनि आह्वान गरेको छ।
फेब्रुअरी २८ मा इरानमा हमला भएपछि उसले मध्यपूर्वका अन्य देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर हमला गरिरहेको छ। केही देशमा सार्वजनिक स्थानहरूमा पनि इरानबाट ड्रोन र मिसाइल प्रहार भएका छन्।
हमासले पहिलोपटक सार्वजनिक रूपमा इरानको नीतिबारे टिप्पणी गरेको हो। युद्धका क्रममा भने हमासले इरानसँग ऐक्यबद्धता जनाएको थियो। यद्यपि उसले अहिलेसम्म इसराइलमाथि आक्रमण गरेको वा गर्ने धम्की दिएको छैन।
इरान समर्थित हिजबुल्लाहले लेबननबाट इसराइलमा हमला गरिरहेको छ। उसले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि बदला लिन इसराइलमा हमला गर्ने घोषणा गर्दै इरानलाई प्रत्यक्ष सहयोग गर्दै आइरहेको छ।
यमनको हुथी लडाकू समूहले पनि इरानप्रति बलियो समर्थन रहेको बताएको छ।
इरानले आफ्नो सीमा नजोडिएकाले इसराइललाई घेराबन्दी गर्न छिमेकी मुलुकहरूमा विभिन्न समूह परिचालन गर्छ।
लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।
यसका निम्ति इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्स’ (आइआरजिसी) को ‘कुद्स फोर्स’ ले विदेशी समूहहरू परिचालन गर्छ।
इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई ‘एक्सिस अफ रेसिस्टेन्स’ भनिन्छ।
२०२३ को अक्टोबरमा हमासले इसराइलमा हमला गरेपछि २ वर्षभन्दा बढी समय इसराइलले गजामा आक्रमण गरेको थियो।
गत वर्षको अक्टोबरमा मात्रै त्यहाँ युद्धविराम भएको थियो। त्यसका बाबजुद पनि बेला बेला हिंसात्मक झडप भइरहेका छन्।
इरानसँगको युद्ध सुरु भएपछि सुरुवातमा गाजामाथि इजरायली आक्रमण केही घटे पनि पछिल्लो समय फेरि बढ्न थालेको बताइएको छ।
