लेखनाथ, चैत १ गते । पर्यटन राजधानी पोखरामा यही चैत २८ गते रात्रि दौड प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ ।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरामा पहिलो पटक रात्रि दौड प्रतियोगिता हुन लागेको हो ।
खेल पर्यटनका माध्यमबाट पोखराको पर्वद्धनका लागि क्रियाशील रहेका पोखरा क्लिक र पोखरा पर्वद्धन केन्द्रको संयुक्त आयोजनामा स्पर्धा हुन लागेको हो ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार रुपियाँ सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनु भयो ।
महिला, विद्यार्थी (यु १६) र विदेशी सहभागीका लागि छुट्टाछुट्टै विधाका विजेतालाई समेत प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । नेपाली नयाँ वर्षमा कार्यक्रम कम हुने हुँदा “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने अवधारणामा रात्रि दौड आयोजना गर्न लागिएको बरालको भनाइ छ ।
पाँच किलोमिटर दूरीको उक्त दौड बाराही घाटबाट सुरु भई लेकसाइड, पोखराका प्रमुख नगरी क्षेत्र, न्युरोड, महेन्द्रपुल हुँदै झण्डा पार्क (फल्चा) मा पुगेर सम्पन्न हुनेछ ।
रात्रिकालीन दौडमार्फत् पोखराको पर्यटन, सांस्कृतिक सौन्दर्य र खेलकुद गतिविधिलाई एकैसाथ प्रवद्र्धन गरी पर्यटकीय राजधानी पोखरालाई खेल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।
