मेसीले पूरा गरे ९०० करिअर गोल : ऐतिहासिक सफलताका केही रोचक तथ्य

काठमाडौं, चैत ४
अर्जेन्टाइन सुपरस्टार लिओनल मेसी व्यावसायिक फुटबलको इतिहासमा ९०० गोल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्।

बुधबार इन्टर मियामी र नासभिल एससीबीच भएको खेलमा गोल गर्दै उनले यो ऐतिहासिक सफलता हात पारेका हुन्।

३८ वर्षीय फरवार्ड मेसीले अमेरिकाको टेनेसीस्थित जियोडिस पार्कमा भएको ‘कनकाकाफ च्याम्पियन्स कप’ को खेल सुरु भएको सात मिनेटमै नौ सय कोशेढुङ्गा पार गरेका थिए। सन् २०२३ को जुन महिनामा इन्टर मियामीमा आबद्ध भएयता उनले ९२ खेलमा ८१ गोल गरिसकेका छन्, जसले क्लबलाई लिग कप र एमएलएस कप जिताउन मद्दत गर्‍यो।

विश्वकै महान फुटबलरमध्येका एक मानिने मेसीले आठ पटक ‘बालोन डि’ओर’ अवार्ड जितिसकेका छन्। उनले बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी) र अर्जेन्टिनाका लागि खेल्दै गोलको वर्षा नै गरेका छन्।

बार्सिलोनाको इतिहासमा १७ वर्ष १० महिनाको उमेरमा सबैभन्दा कान्छो गोलकर्ता बनेका मेसीले त्यसपछि कहिल्यै रोकिएनन्। बार्सिलोनामा बिताएको १७ वर्षको अवधिमा उनले ७७८ खेल खेल्दै ६७२ गोल गरे।

बार्सिलोनामा रहँदा उनले १० वटा ला लिगा, ४ वटा च्याम्पियन्स लिग र अन्य थुप्रै उपाधि जिते। त्यसपछि दुई सिजन पिएसजीमा बिताएका मेसीले त्यहाँ ७५ खेलमा ३२ गोल गरे।

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएपछि उनी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भए। अर्जेन्टिनाका लागि उनले हालसम्म १९६ खेलमा ११५ गोल गरिसकेका छन्।

तथ्यांक अनुसार मेसीले गोल गर्दा शरीरको कुन अंग प्रयोग गरे र कहाँबाट गोल गरे भन्ने विवरण यस्तो छ :
• बायाँ खुट्टाले: ७५५ गोल
• दायाँ खुट्टाले: १११ गोल
• टाउकोले (हेडर): ३० गोल
• अन्य: ४ गोल
• डि-बक्स भित्रबाट: ७२४ गोल
• डि-बक्स बाहिरबाट: १७६ गोल
• पेनाल्टी मार्फत: ११२ गोल
• फ्रि-किक मार्फत: ७० गोल

उनले सबैभन्दा धेरै गोल गरेका क्लबहरूमा सेभिया (२५ गोल), एथ्लेटिक क्लब (२४ गोल) र एथ्लेटिको म्याड्रिड (२३ गोल) रहेका छन्।

मेसीभन्दा अगाडि यो सफलता पाउने एक मात्र खेलाडी उनका चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो हुन्। ४१ वर्षीय रोनाल्डोले सन् २०२४ को सेप्टेम्बरमा पोर्चुगलका लागि खेल्दै ९०० गोल पूरा गरेका थिए। रोनाल्डोको हालको कुल गोल संख्या ९५९ पुगेको छ।

ब्राजिलका महान खेलाडी पेलेले आफूले १,००० भन्दा बढी गोल गरेको दाबी गरे पनि आधिकारिक तथ्यांक अनुसार उनको नाममा ७७८ गोल मात्र छ। त्यस्तै अर्का ब्राजिलियन खेलाडी रोमारियोको नाममा ७८५ गोल रहेको छ।

इन्टर मियामीका प्रशिक्षक जाभियर मास्चेरानो, जो मेसीका पुराना सहकर्मी पनि हुन्, उनले मेस्सीलाई ‘संसारमा अरु कोही जस्तो नभएको’ खेलाडी बताएका छन्।

मेसीले सन् २०१२ मा एकै वर्षमा ९१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए। उनी च्याम्पियन्स लिगमा सबैभन्दा छिटो १०० गोल गर्ने खेलाडी पनि हुन्।

मास्चेरानो भन्छन्, ‘९०० गोलको संख्या सोच्नै नसकिने खालको छ। म भाग्यमानी हुँ कि मैले उनका धेरैजसो गोलहरू नजिकबाट हेर्न पाएँ। त्यसैले त भनिन्छ – लियो मेसी अद्वितीय छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply