काठमाडौँ, चैत ९ गते । सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
विरगन्जमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई चार विकेटले हरायो । जनकपुरमा भएको अर्को खेलमा लुम्बिनीले कोशी प्रदेशमाथि एक ४८ रनको फराकिलो जित निकाल्यो ।
जितका लागि कर्णालीले दिएको एक सय २० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमका लागि
किरण ठगुन्ना सर्वाधिक २६ रन बनाउनुभयो । यस्तै खडक बोहोरा २३, मिलन बोहोरा १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाउनुभयो ।
बलिङमा कर्णालीकाअनुज चनरा र कप्तान दिवान पुनले दुई दुई तथा दीपेन्द्र रावत र प्रकाश जैशीले एक एक विकेट लिनुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १९ रन बनाएको थियो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ रन बनाउनुभयो । सुनिल धमलाले २८ र अरविन्द घर्तीले १३ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कर्णालीलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका हेमन्त धामी एक्लैले ६ विकेट लिनुभयो । उहाँले सात ओभरमा मात्र १६ रन खर्चिनुभयो । कप्तान शेर मल्ल, अशोक धामी, नारायण जोशी र मिलन बोहोराले एक एक विकेट लिनुभयो ।
यस्तै जनकपुरमा भएको अर्को खेलमा जितका लागि लुम्बिनी प्रदेशले दिएको दुई सय ५० रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ३१.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४९ रनको योगफल खडा गरेको थियो ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
