चैत १३
अमेरिकी कागजी मुद्रा (डलर)मा पहिलोपटक वर्तमान राष्ट्रपतिको हस्ताक्षर समावेश हुने भएको छ।
यसै गर्मीदेखि नयाँ नोटहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर देखिने अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ।
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा ल्याउन लागिएको नयाँ डिजाइनका नोटहरूमा १६५ वर्षदेखि निरन्तर रहँदै आएको अमेरिकी ट्रेजरर (कोषाध्यक्ष)को हस्ताक्षर भने हटाइनेछ।
सन् १८६१ देखि अमेरिकी कागजी मुद्रामा ट्रेजररको हस्ताक्षर अनिवार्य रूपमा राखिँदै आएको थियो।
नयाँ व्यवस्थाअनुसार जुन महिनाबाट १०० डलरका नोट छापिन सुरु हुनेछन्। जसमा ट्रम्पसँगै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको पनि हस्ताक्षर रहने रोयटर्सले जनाएको छ।
त्यसपछि क्रमशः अन्य दरका नोटहरू पनि जारी गरिने बताइएको छ। यी नोटहरू बैंकिङ प्रणालीमार्फत बजारमा पुग्न केही हप्ता लाग्न सक्ने जनाइएको छ।
हाल भने पूर्व अर्थमन्त्री ज्यानेट एलेन र पूर्व ट्रेजरर लिन मालर्बाको हस्ताक्षर भएका नोटहरू उत्पादन भइरहेका छन्। मालर्बा सन् १८६१ यता निरन्तर जारी रहेको ट्रेजरर हस्ताक्षरको परम्परा अन्त्य गर्ने अन्तिम व्यक्ति हुनेछन्।
यो कदम ट्रम्प प्रशासनले सरकारी संरचना, कार्यक्रम तथा मुद्रामा आफ्नो पहिचान झल्काउने प्रयासको निरन्तरता मानिएको छ।
यसअघि ट्रम्पको तस्बिरसहितको सुनको सिक्का डिजाइन पनि स्वीकृत भइसकेको छ। यद्यपि जीवित व्यक्तिको तस्बिर चलनचल्तीका सिक्कामा राख्न अमेरिकी कानुनले रोक लगाएको छ।
अमेरिकी कानुनअनुसार नोटको मूल डिजाइन भने परिवर्तन गरिने छैन।
‘इन गड वी ट्रस्ट’ जस्ता अनिवार्य शब्दहरू यथावत रहनेछन् भने मृत व्यक्तिको तस्बिर मात्र राख्न पाइने प्रावधान पनि कायम रहनेछ।
अर्थमन्त्री बेसन्टले यसलाई अमेरिकी इतिहास र आर्थिक उपलब्धिको सम्मानका रूपमा व्याख्या गरेका छन्। उनले ट्रम्पको दोस्रो कार्यकालमा अर्थतन्त्र बलियो भएको दाबी गर्दै नयाँ नोटलाई ऐतिहासिक कदम बताएका छन्।
