हेमा भट्ट, चैत १८
कञ्चनपुर — आपतकालीन अवस्थामा छिटो र प्रभावकारी उद्धार सेवा प्रदान गर्ने लक्ष्यसहित आज मन्त्र हस्पिटलमा कञ्चनपुरका ट्राफिक प्रहरीहरूका लागि Basic Life Support (BLS) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। मेडिकल डाइरेक्टर डा. गोविन्द रोकायाको नेतृत्वमा आयोजित उक्त तालिमले सडक दुर्घटनामा पहिलो प्रतिक्रिया दिने जनशक्तिलाई थप सक्षम बनाउने विश्वास लिइएको छ।
सडक दुर्घटनाका घटनाहरूमा प्रहरी नै प्रायः पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरूलाई आधारभूत जीवन रक्षासम्बन्धी सीप प्रदान गर्नु अत्यन्तै आवश्यक मानिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको तालिममा सहभागी ३० जना ट्राफिक प्रहरीले व्यावहारिक अभ्याससहित विविध जीवनरक्षक प्रविधिहरू सिकेका छन्।


तालिमका क्रममा सहभागीहरूले CPR (Cardiopulmonary Resuscitation) गर्ने सही विधि, दुर्घटनामा घाइते भएका बिरामीको प्रारम्भिक अवस्था मूल्यांकन तथा व्यवस्थापन, स्ट्रेचर प्रयोग गरी सुरक्षित रूपमा बिरामी सार्ने तरिका जस्ता अत्यावश्यक विषयहरूमा गहिरो ज्ञान हासिल गरेका छन्। साथै घाँटीमा अड्किने (Choking) अवस्थाको तत्काल समाधान, सर्पदंशको प्राथमिक उपचार तथा टुर्निकेटको गलत प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिमबारे पनि स्पष्ट जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको पृष्ठभूमिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक वलेन्द्र नाथको पहल महत्वपूर्ण रहेको बताइएको छ। उनले आफ्ना स्टाफहरूलाई आपतकालीन अवस्थामा अझ प्रभावकारी सेवा दिन सक्षम बनाउने उद्देश्यले यस्तो प्रशिक्षणको आवश्यकता महसुस गर्दै मन्त्र हस्पिटलसँग सहकार्यको अनुरोध गरेका थिए। सोही अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गर्दै हस्पिटलले तालिम आयोजना गरेको हो।
कार्यक्रममा सहभागी प्रहरीहरूले सिकेका सीपहरूले आगामी दिनमा सडक दुर्घटनाका घाइतेहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। तालिमले प्रहरीको आत्मविश्वास मात्र होइन, उनीहरूको कार्यक्षमता पनि उल्लेखनीय रूपमा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

मन्त्र हस्पिटलले समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राख्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। हस्पिटलका प्रतिनिधिहरूका अनुसार, “स्वास्थ्य सेवा अस्पतालभित्र मात्र सीमित नभई समुदायमै पुग्नुपर्छ,” भन्ने मान्यतासहित यस्ता तालिमहरू सञ्चालन भइरहेका छन्।
यस प्रकारका सहकार्यात्मक कार्यक्रमहरूले सुरक्षा निकाय र स्वास्थ्य संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समुदायस्तरमै आपतकालीन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने दिशामा सकारात्मक संकेत दिएको छ।
