सेयर बजार महत्त्वपूर्ण मोडमा, लगानीकर्ताले ध्यान दिनैपर्ने ३ पक्ष

चैत ३०
सेयर बजार परिसूचक नेप्से ३००० विन्दुको आसपास आएको निकै लामो समय भइसकेको छ।

पछिल्लो समय २०८१ साउनदेखि नेप्से ३००० विन्दु नजिक पुग्दै ओर्लिँदै गरिरहेको छ।

केही दिनअघि मात्रै २९६९ विन्दुसम्म पुगेको नेप्से त्यसपछि घट्दै २६६९ विन्दुसम्म ओर्लियो। अहिले त्यहाँबाट फेरि बढ्ने प्रयासमा २८३७ विन्दुसम्म आएको छ।

त्यसैले सेयर बजार अहिले महत्त्वपूर्ण मोडमा छ र मुख्य तीन पक्षलाई ध्यान दिनुपर्ने अवस्था देखिएको छ।

पहिलो हो, चैत मसान्त प्रभाव।

वैशाख लागेसँगै सूचीकृत कम्पनीहरूले वित्तीय विवरण प्रकाशन गर्छन्।

तेस्रो त्रैमासको वित्तीय विवरणको आधारमा चौथो त्रैमासमा कम्पनीहरूले गर्न सक्ने आम्दानीको थोरबहुत अनुमान लगाउन सकिने भएकाले यो समयलाई महत्त्वपूर्ण अवधिको रूपमा हेरिन्छ।

यस आधारमा धेरै वर्षदेखि नै सेयर बजारमा चैत मसान्त प्रभाव देखिने गरेको छ। यद्यपि पछिल्लो समय भने बैंकहरूको बढेको खराब कर्जा, घट्दो लाभांश क्षमता लगायत कारण यस्तो प्रभाव कमजोर हुँदै गइरहेको देखिन्छ।

तर हरेक वर्ष यो अवधिमा आफ्नो वार्षिक लक्ष्य पूरा गर्न बैंकहरूले कर्जा असुलीमा कडाइ गर्छन्।

लामो समयदेखि समस्यामा रहेको बैंकिङ क्षेत्रको वित्तीय विवरणमा झिनै भए पनि सुधार भइरहेकाले अब आउन सक्ने वित्तीय विवरणले बजारको नयाँ दिशा पहिल्याउन सक्छ।

दोस्रो हो, जलविद्युत समूहको नयाँ उचाइ।

जलविद्युत समूह अहिले इतिहासकै उच्च विन्दुमा आएको छ। शुक्रबार समग्र सेयर बजार (नेप्से) घट्दा पनि यो समूहले वृद्धि कायम राख्यो। यो समूह शुक्रबार ३.४९ विन्दुले बढ्यो।

लगातार पाँचौं दिन बढेर यो समूह बजार बन्द हुँदाको अन्तिम विन्दु (क्लोज इन्डेक्स) को आधारमा अहिलसम्मकै उच्च ४०१६ विन्दुमा आएको छ।

केही दिनअघि अन्तरदिनको कारोबारमा भने यसले ४१०४ को उचाइ बनाएको थियो।

बैंकको न्यून ब्याजदरको कारण लागत घट्नु, प्रि–मनसुन सुरू भएकाले नदीमा जलप्रवाह बढ्नु लगायत कारण अहिले जलविद्युत क्षेत्रको आम्दानी बढ्ने अनुमान गरिएको छ।

तर प्रश्न उठ्छ— के जलविद्युत क्षेत्र एक्लैले बजार माथि लैजान सक्छ?

त्यसका लागि बजारमा यो समूहको प्रभाव हेर्नुपर्छ। अहिले सेयर बजारमा सबैभन्दा धेरै रकमको कारोबार हुनेमा जलविद्युत समूह नै अग्रस्थानमा देखिएको छ।

शुक्रबारको कुल कारोबारमा यो समूहमा मात्रै करिब ५४ प्रतिशत बराबर रकमको कारोबार भएको थियो। पूरै बजारमा करिब ९ अर्बको कारोबार हुँदा यो क्षेत्रको मात्रै चार अर्ब ८० करोड रूपैयाँको कारोबार भएको थियो।

तर एउटा मात्र समूहको भरमा समग्र बजारमा दीर्घकालीन वृद्धिको अपेक्षा गर्नु जोखिमपूर्ण हुन्छ।

बजार पुँजीकरणको आधारमा नेप्सेमा बैंकिङ, बीमा, विकास बैंक, फाइनान्स लगायत ठूला समूहको पनि उच्च हिस्सा छ। यी क्षेत्रहरू कमजोर रहे भने यो एउटा समूहको वृद्धिले मात्र बजार दिगो रूपमा अगाडि बढाउन सक्दैन।

तेस्रो हो, समग्र अर्थतन्त्र।

अहिले इसराइल सहित अमेरिका र इरानबीचको द्वन्द्व निश्कर्षमा पुग्न सकेको छैन।

सामान्यतयाः अन्तराष्ट्रिय क्षेत्रको दबाब नेपालको पुँजी बजारमा कमै पर्छ। हाम्रा सूचीकृत कम्पनीहरू विश्वका अन्य मुलुकका स्टक एक्सचेन्जहरूमा सूचीकृत नहुनु, बाहिरका कम्पनीहरू नेप्सेमा सूचीकृत नहुनु, नेपालबाट बाहिर सजिलै विदेशी मुद्रा लैजाने व्यवस्था नभएकाले समेत यस्ता बाहिरी प्रभाव कम पर्दै आएको छ।

तर यस पटक परिदृश्य केही फरक छ। धेरै नेपालीले रोजगारी गर्न जाने क्षेत्रमा समेत छिटपुट द्वन्द्वको असर देखिएको छ। अहिलेसम्म नेपाल भित्रिने रेमिटेन्समा ठूलो प्रभाव परेको देखिँदैन।

यो द्वन्द्व कति लामो जान्छ र अगाडिका दिन कति चुनौतीपूर्ण बन्छन्, त्यसको प्रभाव सेयर बजारमा पनि पर्न सक्छ।

अहिले नै इन्धनको मूल्यमा भएको वृद्धिले नेपालीको भान्छादेखि अर्थतन्त्रलाई ‘गति दिने’ निजी क्षेत्रलाई समस्या पारिरहेको छ।

यस्तै कारण केही दातृ निकायहरूले नेपालको आर्थिक वृद्धिदर पनि संकुचन हुने संकेत गरिरहेका छन्।

त्यसैले यी तीन पक्षमा आगामी दिनमा हुन सक्ने फेरबदलले नेप्सेको आगामी दिनको प्रवृत्ति स्पष्ट हुँदै जान सक्ने देखिन्छ।

अहिलेलाई सकारात्मक पक्ष भनेको स्थायी सरकार बनेको छ, बैंकहरूमा पर्याप्त पुँजी छ, वैदेशिक मुद्राको सञ्चिति लगायतका आधारमा बाह्य अवस्था अहिलेसम्म सुविधाजनक अवस्थामै छ।

यी सुविधा सरकारले अर्थतन्त्र गतिशील हुने गरेर कसरी परिचालन गराउँछ भन्नेमा पनि निर्भर रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply