चेन्नई, वैशाख २१ – तमिलनाडु विधानसभा निर्वाचनको मतगणनामा चर्चित अभिनेता थालापति विजय नेतृत्वको नवगठित पार्टी तमिलगा वेट्री कजगम (टीभीके) ले अप्रत्यासित अग्रता लिँदै राजनीतिक वृत्तमा हलचल ल्याएको छ।
मतगणनाको प्रारम्भिक चरणदेखि नै टीभीकेले बहुमत नजिकको प्रदर्शन गरेपछि पुराना राजनीतिक समीकरणमा ठूलो चुनौती देखिएको छ। २३४ सिटमध्ये ठूलो हिस्सामा अग्रता लिँदै पार्टी सत्ताको दौडमा बलियो रूपमा उभिएको भारतीय मिडियाले जनाएका छन्।
अघिल्लो सत्तारूढ द्रविडा मुनेत्रा कजगम (डीएमके) नेतृत्वको गठबन्धन भने पछाडि परेको देखिएको छ। त्यस्तै भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धन दोस्रो स्थानमा रहेको प्रारम्भिक परिणामले देखाएको छ।
पहिलो पटक निर्वाचनमै उत्रिएका विजयले कुनै गठबन्धन नगरी सबै सिटमा उम्मेदवारी दिएका थिए। चुनावी अभियानमा उनले चलाएको ‘सिठ्ठी अभियान’ जनस्तरमा विशेष चर्चित बनेको थियो।
सिनेमाबाट राजनीति प्रवेश गरेका विजयले २०२४ मा टीभीके स्थापना गरेका थिए। छोटो समयमै पार्टीले देखाएको यो प्रदर्शनलाई विश्लेषकहरूले तमिलनाडुको दीर्घकालीन राजनीतिक संरचनामै परिवर्तनको संकेतका रूपमा हेरेका छन्।
यद्यपि मतगणना जारी रहेकाले अन्तिम नतिजापछि मात्र वास्तविक राजनीतिक तस्वीर स्पष्ट हुने जनाइएको छ।

