केहीबेरमै सार्वजनिक हुँदै एसइई नतिजा, विद्यार्थीमा उत्साह र प्रतीक्षाको चाप

काठमाडौं, वैशाख २८ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरिसकेको छ भने विद्यार्थीहरूले बिहान ९ बजापछि आफ्नो नतिजा हेर्न सक्ने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन्।

नतिजा सार्वजनिक हुने खबरसँगै देशभरका विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा उत्साह र कौतुहलता बढेको छ। परीक्षा बोर्ड परिसर बाहिरसमेत अभिभावक र विद्यार्थीहरूको भीड देखिन थालेको छ।

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। बोर्डका अनुसार यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा अघिल्ला वर्षभन्दा छिट्टै सार्वजनिक गर्न सम्भव भएको हो।

देशभरबाट ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजारभन्दा बढी र ग्रेड वृद्धितर्फ ७० हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। परीक्षामा छात्राको संख्या छात्रभन्दा केही बढी रहेको तथ्यांकले देखाएको छ।

विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत सहज रूपमा नतिजा हेर्न सक्नेछन्। नेपाल टेलिकमको १६०० सेवा, विभिन्न शैक्षिक पोर्टल तथा मोबाइल एपमार्फत नतिजा उपलब्ध गराइने बोर्डले जनाएको छ।

बोर्डले आधिकारिक माध्यमबाट मात्र नतिजा हेर्न आग्रह गर्दै अनधिकृत लिंक वा भ्रमपूर्ण सूचनाबाट सतर्क रहन समेत अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply