एसईई ०८२ मा होलीफेम्लीको शानदार सफलता, ९२.३५ प्रतिशत नतिजाले जिमुवाको शैक्षिक गौरव उचाल्यो

हेमा भट्ट, कञ्चनपुर – जेठ ४
कञ्चनपुरको भीमदत्त नगरपालिका-१० जिमुवास्थित होलीफेम्ली ईङलिश मिडियम बोडिङ्ग स्कुल ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै जिल्लाकै निजी विद्यालयहरूमध्ये आफूलाई अब्बल सावित गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार सार्वजनिक गरेको नतिजा तथा शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्कअनुसार विद्यालयले ९२.३५ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ। विद्यालयका अधिकांश विद्यार्थी उच्च जिपिएसहित उत्तीर्ण भएका छन् भने विद्यालयको समग्र नतिजाले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा खुसीको वातावरण सिर्जना गरेको छ।

विद्यालयका म्यानेजर महादेव भट्टले विद्यालयले यस वर्ष सतप्रतिशत नतिजाको लक्ष्य लिएको भए पनि केही विद्यार्थीलाई एक विषयमा एनजी आएको बताए। उनका अनुसार ती विद्यार्थीले ग्रेडवृद्धिको अवसरमार्फत आगामी परीक्षामा सफलता हासिल गर्ने विश्वास गरिएको छ।

उनले विद्यालय प्रशासनले वर्षभरि लागू गरेको शैक्षिक योजना, शिक्षकको निरन्तर मेहनत, विद्यार्थीको अनुशासन र अभिभावकको साथकै कारण यो सफलता सम्भव भएको उल्लेख गरे। “हामीले गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएका छौँ, यही मेहनतको प्रतिफल आज प्राप्त भएको हो,” उनले भने।

विद्यालयका सञ्चालक भुपाल सिंह विष्ट र प्रिन्सिपल एनडी भट्टले प्रत्येक शैक्षिक सत्रको सुरुवातदेखि नै विद्यार्थीको नियमित निगरानी, अतिरिक्त कक्षा, अभिभावकसँग समन्वय र सिर्जनात्मक शिक्षण पद्धतिमा जोड दिँदै आएका छन्। जसका कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको स्थानीयको भनाइ छ।

शैक्षिक उपलब्धिसँगै विद्यालय खेलकुद र सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएको छ। क्रिकेटसहित विभिन्न खेल विधामा प्रतिभाशाली खेलाडी उत्पादन गर्दै आएको विद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो पहिचान बनाइसकेको छ।

उत्तरी कञ्चनपुरको ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय अहिले विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्दै गएको छ। विद्यालयको निरन्तर प्रगति र अनुशासित शैक्षिक वातावरणका कारण समुदाय तथा सरोकारवालाबाट समेत प्रशंसा भइरहेको छ।

विद्यालय प्रशासनले आगामी शैक्षिक सत्रमा अझ प्रभावकारी योजना र आधुनिक शिक्षण अभ्यासमार्फत थप उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply