जेठ ११ | खेमराज भट्ट
काठमाडौं — नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय मौलिक कथा, गाउँघरको परिवेश र नेपाली समाजको यथार्थलाई समेट्ने चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यही क्रममा चर्चामा रहेको चलचित्र ‘मालती मंगले ’ले पनि दर्शकमाझ विशेष उत्साह सिर्जना गरेको छ। प्रेम, भावना, संघर्ष र नेपाली संस्कृतिको सुगन्ध बोकेको यस चलचित्रले नेपालीपनलाई जीवन्त रूपमा पर्दामा उतार्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा विजय बराल, वर्षा राउत, प्रकाश घिमिरे, मेक्सम गौडेल, सरिता गिरी, सुष्मा निरौला लगायत कलाकारहरूको अभिनय रहेको छ भने निर्देशन प्रकु पाण्डेयले गर्नुभएको हो। पारिवारिक सम्बन्ध, समाजको वर्गीय विभेद, गाउँघरको सरल जीवनशैली र साँचो प्रेमको कथालाई चलचित्रले भावनात्मक ढंगले प्रस्तुत गरेको बताइन्छ।
विशेष गरी यस चलचित्रमा चर्चित गायक रामकृष्ण ढकाल को भूमिका निकै महत्वपूर्ण रहेको छ। नेपाली संगीत क्षेत्रमा दशकौँदेखि आफ्नो मधुर स्वरमार्फत लाखौँ दर्शक–श्रोताको मन जित्न सफल ढकाल यस चलचित्रमार्फत निर्माता रूपमा देखिनुभएको हो। ‘मालती मंगले’ उहाँको निर्माण यात्राको पहिलो चलचित्र भएकाले पनि दर्शकमाझ थप चासो देखिएको छ।
चलचित्रका गीतसंगीतले पनि दर्शकमाझ सकारात्मक चर्चा बटुलिरहेका छन्। “सुनैको सपनी”, “झ्याम परम्” र “ढुङ्गा माथि लेऊ” जस्ता गीतले चलचित्रप्रति दर्शकको उत्साह अझ बढाएको देखिन्छ। “सुनैको सपनी” गीतमा रामकृष्ण ढकाल र रचना रिमाल को स्वर रहेको छ, जसले गीतलाई अझ भावनात्मक बनाएको छ।
निर्माण पक्षका अनुसार ‘मालती मंगले’ केवल मनोरञ्जनका लागि बनेको चलचित्र मात्र नभई नेपाली समाज, संस्कार, सम्बन्ध र जीवनको वास्तविकतालाई चित्रण गर्ने प्रयास हो। चलचित्रले गाउँघरको आत्मीयता, परिवारभित्रको माया, विश्वास र संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरेको बताइएको छ।
नेपाली मौलिकता, प्रेम र संगीतको सुन्दर संगम बनेको ‘मालती मंगले’ अहिले नेपाली चलचित्र बजारमा सकारात्मक चर्चामा रहेको चलचित्रका रूपमा हेरिएको छ। दर्शकमाझ बढ्दो उत्साहले चलचित्रले नेपाली सिने क्षेत्रमा छुट्टै छाप छोड्ने अपेक्षा गरिएको छ।
