हेमा भट्ट, जेठ १९
धनगढी, कैलाली सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै प्रदेशमा तेक्वान्दो खेलको विकास र विस्तारका लागि नयाँ ऊर्जा थपेको छ।
अधिवेशनबाट ज्ञानेन्द्र बहादुर सिंह अध्यक्ष चयन हुँदा श्रीराम चौधरी कोषाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन्। खेलकुद क्षेत्रप्रति समर्पित, सक्रिय र व्यवस्थापन क्षमताका धनी चौधरीको चयनसँगै संघको आर्थिक पारदर्शिता, संस्थागत सुदृढीकरण तथा खेलाडीमुखी कार्यक्रमहरू अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
तेक्वान्दो गतिविधिहरूमा लामो समयदेखि योगदान दिँदै आएका श्रीराम चौधरी खेलकुद विकासका लागि प्रतिबद्ध व्यक्तित्वका रूपमा परिचित छन्। उनको नेतृत्वमा संघको आर्थिक व्यवस्थापन थप व्यवस्थित, उत्तरदायी र परिणाममुखी बन्ने विश्वास अधिवेशनमा सहभागी प्रतिनिधिहरूले व्यक्त गरेका छन्।
नवगठित कार्यसमिति अध्यक्ष : ज्ञानेन्द्र बहादुर सिंह उपाध्यक्ष : पदम विक्रम सिंह
उपाध्यक्ष : दीपेन्द्र कुँवर कोषाध्यक्ष : श्रीराम चौधरी प्रदेश सचिव : लोक बहादुर बुढा सदस्य
कमलराज पनेरु, हेम बस्नेत, जय पृथ्वी चन्द, गजेन्द्र डगौरा, महेश्वर ओझा, विक्रम ठकुल्ला, सबिता ऐर र पार्वती भट्ट जोशी।

अधिवेशनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलको विकास, प्रतिभावान खेलाडी उत्पादन, प्रशिक्षणका अवसर विस्तार तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।कोषाध्यक्षमा निर्वाचित श्रीराम चौधरीलाई खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनको सक्रियता र अनुभवले संघलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
