भोटेकोशी बाढीमा उद्धार र राहतमा जुट्न अपिल

काठमाडौं, भदौ १० – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि नेपाली कम्युनिष्ट पार्टीले प्रभावित क्षेत्रमा तत्काल उद्धार, उपचार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट आएको बाढीले रसुवागढी, टिमुरे, स्याफ्रु, मैलुङ, बेत्रावतीलगायतका क्षेत्रमा क्षति पुर्‍याएको पार्टीले जनाएको छ। बाढीका कारण घर तथा पसल, सडक, पुल, भन्सार कार्यालय, प्रहरी चौकी, टेलिकम टावर, पशुचौपाया, खेतबारी तथा केही जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।

प्रभावित क्षेत्रमा केही नागरिक, सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन रहेको र केही घाइते भएको जनाउँदै पार्टीले क्षतिको यथार्थ विवरण संकलन तथा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेको छ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा थप जोखिम कायमै रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

पार्टीले जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न नागरिकलाई अपिल गरेको छ। साथै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, जनशक्ति र स्रोतसाधन परिचालन गरी नागरिकको जीवनरक्षा तथा थप क्षति न्यूनीकरणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।
विपद्को समयमा संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ-संस्था तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको पार्टीले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टीले आफ्ना नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई पनि प्रभावित क्षेत्रमा स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत र मानवीय सेवामा सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ।

पार्टीले विपद्मा परेका नागरिकको जीवनरक्षा सबैको साझा दायित्व भएकाले संकटको समयमा राजनीतिक तथा सामाजिक क्षेत्रबाट एकजुट भएर मानवीय सेवामा लाग्न आग्रह गरेको छ।

सबै सुरक्षित रहौँ, एकजुट भएर उद्धार, राहत र मानवीय सेवामा जुटौँ भन्दै पार्टीले प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *