हेमा भट्ट, भदौ २९
कञ्चनपुरको कृष्णपुर नगरपालिका-७, कलुवापुरस्थित दोमिल्ला मैदानमा मौलिक कला, संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्धुनी तथा देउडा विशेष कार्यक्रम’ आयोजना हुने भएको छ। दियालो कृषक समूहको आयोजनामा २०८३ असोज १ गते दिउँसो २ बजेदेखि सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय कलाकारसँगै चर्चित स्थानीय देउडा कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
देउडाको मौलिक भाका, बन्धुनीको मिठास र कलाकारहरूको आकर्षक प्रस्तुतिसँगै असोज संक्रान्तिका अवसरमा पश्चिम नेपालमा प्रचलित ‘बूढी पोल्ने’ परम्पराले समेत कार्यक्रमलाई थप सांस्कृतिक रंग दिने अपेक्षा गरिएको छ। कलुवापुरमा आयोजना हुन लागेको यो कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई नयाँ पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र पुर्ख्यौली परम्परासँग जोड्ने अवसरका रूपमा समेत हेरिएको छ। सुदूरपश्चिम तथा नेपालको पश्चिमी क्षेत्रमा ओल्के पर्वसँग जोडिएको बूढी पोल्ने परम्परा लामो समयदेखि मनाइँदै आएको सांस्कृतिक चलन हो। संक्रान्तिको साँझ स्थानीय बासिन्दाहरू मिलेर गाउँनजिकका विभिन्न उचाइमा रहेका टाकुरामा रुखका हाँगा, काँडाका झाङ तथा अन्य बोटबिरुवा एकै ठाउँमा थुपारेर ‘बूढी’ स्थापना गर्ने र साँझ घर-घरबाट आगोको राँको निकालेर त्यसलाई एकैसाथ जलाउने गरिन्छ। घरबाट राँको निकाल्दा घरलाई घुमाएर निकाल्ने तथा चामलसमेत लिएर गई पोलेको बूढीमा चपाएर थुक्ने चलनसमेत कतिपय स्थानमा रहेको पाइन्छ।परम्परागत मान्यताअनुसार बूढी पोल्दा वर्षभरि परिवारलाई लुतो तथा विभिन्न रोग-व्याधिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ। यस अवसरमा घरघरमा विभिन्न मीठा-मीठा परिकार बनाएर खाने, आफन्त तथा छिमेकीसँग भेटघाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन पनि छ। बूढी पोल्ने क्रममा युवायुवती तथा स्थानीयवासी देउडा खेल्दै सांस्कृतिक उत्सव मनाउने गर्छन्।
सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न गाउँ तथा टाकुराहरूमा यो परम्परा विशेष उत्साहका साथ मनाइने गरेको छ। पश्चिम नेपालसँग सांस्कृतिक सामीप्यता रहेको कुमाऊँ क्षेत्रमा यही प्रकृतिको पर्वलाई ‘खतडुवा’ भनेर मनाउने परम्परा रहेको छ। यसले सुदूरपश्चिम र सीमावर्ती पहाडी क्षेत्रबीचको साझा सांस्कृतिक सम्बन्धलाई समेत उजागर गर्छ।
कलुवापुरमा हुन लागेको बन्धुनी तथा देउडा विशेष कार्यक्रमले यिनै मौलिक परम्परा, लोकभाका र सामाजिक सम्बन्धलाई उत्सवका रूपमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ। कार्यक्रममा कलुवापुरवासी, चेलीबेटी, विवाहित चेलीबेटी, स्थानीयवासी, शुभेच्छुक तथा कला-संस्कृतिप्रेमीलाई उपस्थित भई कार्यक्रमको शोभा बढाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
‘दोमिल्ला मैदानमा भेटौँ, मौलिक संस्कृति बचाऔँ र देउडाको रौनकमा रमाऔँ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रमले स्थानीय कला-संस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव र एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
कार्यक्रमसम्बन्धी जानकारी समाजसेवी प्रकाश ताम्राकारले रैकवार खबर डट कमलाई दिएका हुन्।कार्यक्रम मिति: २०८३ असोज १ गते दिउँसो २ बजे दोमिल्ला मैदान, कलुवापुर, कञ्चनपुर
आयोजक: दियालो कृषक समूह
