त्रिशूली कटानले नारायणगढ–मुग्लिन सडक भासियो

नारायणगढ, असोज ११ गते । त्रिशूली नदीले सडकको भाग कटान गरेपछि नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा सडक भासिएको छ। आइतबार बिहान करिब ८ः४५ बजे सडक भासिएपछि उक्त स्थानमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

अविरल वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुबानसमेत भएको छ। भरतपुर महानगरपालिका–१६ का गुम्बाचोक, झनझने र शरणपुर तथा वडा नम्बर १७ को मजुवा क्षेत्रमा नारायणी नदी पस्दा हालसम्म करिब २६० घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो।

नारायणगढ र देवघाटका नदी किनार क्षेत्र पनि डुबानमा परेका छन्। गौरेश्वर मन्दिर, आधारभूत विद्यालय तथा नदी किनारका केही घरमा पानी पसेको प्रजिअ अर्यालले जानकारी दिनुभयो। माडीमा रिउ खोलाको पानीले डुबान गराए पनि त्यहाँ भएको क्षतिको विवरण प्राप्त भइनसकेको उहाँले बताउनुभयो।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। पूर्वी नवलपरासीको गैँडाकोटमा पनि नारायणी नदीको पानी बस्ती तथा नदी किनारका संरचनामा पसेको छ।

गैँडाकोटको नदी किनारमा रहेका द नारायणी रिसोर्ट, होटल रिभर क्राउनलगायतका संरचनामा डुबानको असर परेको स्थानीय ज्ञानप्रसाद न्यौपानेले बताउनुभयो। नदी किनारका केही घरसमेत डुबानमा परेको उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *