सुदूरपश्चिमका रानाथारु महिला तीज मनाउँदै

सरस्वती सुनार कञ्चनपुर — सुदूरपश्चिम कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिलाहरु परम्परागत पहिरनमा सजिएर कोही पिङ खेल्दैछन् । केही घरघर भान्सामा साँझका लागि विभिन्न परिकार पकवानहरु तयार गरिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ९ पिपरैयामा राना थारु समुदायका महिलाहरु १ साउन बिहानैदेखि घर लिपपोत गर्ने र खाना पकाउनेदेखि साउनको डोला (पिङ) खेल्ने काममा व्यस्त रहेका छन् । उनीहरुको यो सबै व्यस्तता तीज मनाउनका लागि हो । सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेका रानाथारु समुदायले हरितालिका तीजभन्दा ठीक महिना दिन अगाडि साउन शुक्ल तृतीयाका दिन तीज मनाउने गर्छन् । तीजका दिन महिलाहरु पानीसमेत नखाई ब्रत बस्छन् । उनीहरु बिहानै घर लिपपोतपछि नुहाएर साँझका लागि विभिन्न किसिमका परिकारहरु बनाउने काममा जुट्छन् । साँझ साउनको डोला (पिङ) खेलेर नदी वा खोला किनारमा गई पूजा गरिन्छ । नदी किनारमा उरैला (कुशजस्तै एक प्रकारको घाँस) मा गाँठो पारिन्छ । विवाहित महिलाले ७ र अविवाहितले ५ वटा गाँठो पार्ने चलन छ । यसलाई रानाथारु भाषामा ‘झुड्की’ भनिन्छ । उक्त झुड्की चाँदीको औँठीले काटेर खोला वा नदीमै बगाइन्छ । ‘यो पर्वमा दाइभाइ र भतिजाको दीर्घायुका लागि ब्रत बसिन्छ,’ कृष्णपुर नगरपालिका ९ पिपरैयाकी सेवती रानाले भनिन्, ‘आजको दिन युवतीदेखि वृद्धाहरुसमेत माइती घर जान्छन् ।’

दिनभरि बनाइएका परिकारहरु साँझपख पूजापछि ब्रत बसेका छोरी बहिनीदेखि आफन्तहरु सबै एकै ठाउँ बसेर खान्छन् । यो दिन पुरी, गुलगुला, कतरा, पपरा, सिमहिलगायतका परम्परागत खानेकुराहरु पकाइन्छन् । ‘उहिले हप्ता/दस दिनसम्म तीज मनाइन्थ्यो, तीजकै दिन आउन नसक्ने चेलीबेटीहरु अरु दिन पनि आउथे’, सेवतीले भनिन्, ‘अहिले त्यो चलन हटेर एक दिनमात्रै तीज मनाइन्छ ।’ उनका अनुसार छोरी बहिनीहरु आएको दिन सधैं रानाथारु परिकारहरु पाक्थे । तर केही वर्षयता साउन शुक्ल तृतीयाका दिनमात्रै तीज मनाउने चलन सुरु भएको हो । खोला वा नदीमा पूजा गर्नुअघि ब्रतालु महिलाहरु सबै अंगिया र घगरियासहितका थारु पहिरन र गहनामा सजिएर चौर वा नदी किनारमै बनाइएको पिङमा रमाउने गर्छन् । डोला खेल्दा दाइभाइ र भतिजाको दीर्घायुकै लागि गीत गाउने गरिन्छ । ‘यो पर्व भ्रातृत्व प्रेममा आधारित रानाथारु समुदायका समाजसेवी राम सिंह रानाले भने, यो तीजले दिदी बहिनी दाइभाइ र भतिजाहरुप्रतिकोअत्यन्तै गहिरो सम्बन्ध र प्रेमलाई दर्शाउँछ । नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ । समाजसेवी रानाका अनुसार राना थारुको जनसंख्या लगभग ४ लाखभन्दा बढी हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply