जानकी सामुदायिक वनमा होली मिलन तथा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा सम्पन्न

हेमा भट्ट, फागुन २४
कञ्चनपुर। “समृद्धिका लागि दिगो वन, रुख रोपौँ–वन जोगाऔँ” भन्ने मूल नाराका साथ श्री जानकी सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर नगरपालिका–८ र ९ पिपरिया, कञ्चनपुरको आयोजनामा होली मिलन तथा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

फागुन २४ गते आयोजित उक्त कार्यक्रममा सामुदायिक वन संरक्षण, महिला सशक्तिकरण, सामाजिक एकता तथा सांस्कृतिक परम्पराको संरक्षणबारे सन्देश प्रवाह गरिएको थियो। कार्यक्रम जानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द प्रकाश भट्टको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उप–प्रमुख द्रोपती राना रहनु भएको थियो। उहाँले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाको भूमिका समाज परिवर्तनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। “महिलाहरूको सक्रिय सहभागिता बिना समाजको समग्र विकास सम्भव हुँदैन,” उहाँले भन्नुभयो। सामुदायिक वन संरक्षण र महिला सशक्तिकरणलाई सँगसँगै अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले समुदायले यस्ता सकारात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा NFECOFUN प्रदेश महासचिव तथा सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुनाराम चौधरीले मन्तव्य राख्दै सामुदायिक वनले स्थानीय जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सामुदायिक वन संरक्षण केवल वातावरणीय सरोकार मात्र नभई आर्थिक र सामाजिक विकाससँग पनि जोडिएको विषय भएको उल्लेख गर्नुभयो। सामुदायिक वनमा महिलाको सक्रिय सहभागिता बढ्दै गएको भन्दै उहाँले वन संरक्षणमा सबैले साझा जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन रानाले सामुदायिक वनले गाउँमा सामाजिक एकता, सहकार्य र विकासको वातावरण सिर्जना गरेको बताउनुभयो। उहाँले स्थानीय समुदायले वन संरक्षणमा देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै सामुदायिक वनहरूबीच सहकार्य र समन्वय अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य मोली राना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी पिपरिया सब–डिभिजन वन कार्यालयका प्रतिनिधि निरज सिंह र हरि सार्की, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, विरेन्द्र सामुदायिक वनकी अध्यक्ष धर्मा देवी भाट, प्रगति सामुदायिक वनकी सचिव दुर्गा खड्का, लक्ष्मी महिला सामुदायिक वनका अध्यक्ष विर्खा राना, सामाजिक अगुवा रुपा चौधरी, राजघाटका भलमान्सा दुर्गा प्रसाद चौधरी लगायत विभिन्न सामुदायिक वनका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उप–प्रमुख द्रोपती रानाले ब्यानर वाचन गरेर गर्नुभएको थियो। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा अनिता चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पवित्रा चौधरीले अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नुभएको थियो।

कार्यक्रमलाई अझ आकर्षक बनाउन विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। विशेषगरी पिपरिया र पचढक्की क्षेत्रबाट आएका महिला कलाकारहरूले प्रस्तुत गरेको देउडा नाच तथा होली गीतले कार्यक्रमलाई अत्यन्त रोचक र मनोरञ्जनात्मक बनाएको थियो। सहभागी महिलाहरूले सामूहिक रूपमा देउडा नाच्दै र होली गीत गाउँदै पर्वको उत्साह मनाएका थिए।

कार्यक्रममा राष्ट्रिय कलाकार तथा चर्चित गायिका लक्ष्मी रानाको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो। उहाँको प्रस्तुतीले कार्यक्रमस्थलमा उपस्थित दर्शक–श्रोतालाई निकै उत्साहित बनाउँदै माहोललाई झनै रंगीन बनाएको थियो।

कार्यक्रमका क्रममा कलाकारहरूलाई सम्मान पनि गरिएको थियो। आयोजक पक्ष तथा सामुदायिक वनका पदाधिकारीहरूले कलाकारहरूलाई सम्मानस्वरूप खाजा खर्च प्रदान गरेका थिए।

कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न सामुदायिक वनका प्रतिनिधि, सामाजिक अगुवा, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। विशेषगरी महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ।

कार्यक्रमका सभापति चन्द प्रकाश भट्टले समापन मन्तव्य व्यक्त गर्दै सामुदायिक वन संरक्षणसँगै सामाजिक एकता र सांस्कृतिक परम्परालाई जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सामुदायिक वनले प्रत्येक वर्ष होली मिलन तथा सामाजिक कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम भव्य र सभ्य रूपमा समाजसेवी तथा शिक्षिका अनु रानाले सञ्चालन गर्नुभएको थियो। उहाँले कार्यक्रमका विभिन्न चरणमा सम्मानजनक शब्द, प्रेरणादायी भनाइ तथा रोचक शैलीमार्फत उपस्थित दर्शक–श्रोतालाई उत्साहित बनाउँदै कार्यक्रमलाई थप जीवन्त बनाउनुभएको सहभागीहरूले बताएका छन्।

होलीको रङ्ग, सांस्कृतिक उत्साह र नारी शक्तिको सम्मानसँगै सम्पन्न भएको यस कार्यक्रमले सामुदायिक एकता, महिला सहभागिता तथा वन संरक्षणको सन्देश फैलाउँदै पिपरिया क्षेत्रको माहोललाई साँच्चिकै रंगीन बनाएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply