कैलाली जनपुस्तकालय धनगढीको आयोजनामा जीवन दर्शन नामक कृतिको लोकार्पण भएको छ। समाजसेवी मदनराज पाण्डेय र पद्मराज जोशीको लेखन तथा संकलनमा प्रकाशित उक्त कृतिको सोमबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी र प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले संयुक्त विमोजन गरेका हुन्।विमोचित कृति माथि साहित्यकारहरू वासुदेव पाण्डेय,रामलाल जोशी, श्रेष्ठ प्रिया पत्थर र शिक्षासेवी धर्मदेव भट्टले टिप्पणी गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशीले बिभिन्न पौराणिक ग्रन्थहरूको अध्ययनबाट तयार पारिएको कृति वर्तमान पुस्ताका लागि मार्गदर्शक बन्न सक्ने बताए। कार्यक्रममा प्रदेश सरकारका सामाजिक राज्य मन्त्री टेकबहादुर रैकाले समग्र मानव जीवनको उन्नतिका लागि जीवनको दर्शन बुझ्नु अपरिहार्य भएको बताए। राज्यमन्त्री रैकाले प्रदेश सरकार भाषा संस्कृतिको विकासमा प्रतिबद्ध रहेको बताए।
कैलाली जनपुस्तकालयका अध्यक्ष तथा संस्कृतिविद् डा .टीएन जोशीको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा साहित्यकार, प्राध्यापक, कलाकार, समाजसेवी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।
पुस्तकालयका उपाध्यक्ष शिवराज ओझाले स्वागत तथा सचिब टंक जोशीले सञ्चालन गरेको कार्यक्रममा जीवन दर्शन कृतिका लेखकद्वय मदनराज पाण्डेय र पद्मराज जोशीले धन्यबाद व्यक्त गरे। झण्डै ३ सय पृष्ठको कृतिमा लेखकले जीवनको दार्शनिक विश्लेषण गरिएको छ।