विश्वकपमा कति दर्शक कतार पुग्दैछन्, हेर्न कति महँगो?

फुटबल विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक मध्यपूर्वको कुनै देशमा यो प्रतियोगिता हुँदैछ र त्योपनि उत्तरी गोलार्द्धमा जाडो हुने याममा। उपलब्ध सबै ३० लाख टिकट विक्री भइसकेको छ। नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मको खेल हेर्न १२ लाख दर्शकहरू कतार पुग्दैछन्।

सबभन्दा सानो आयोजक

विश्वकपको इतिहासमा कतार सबभन्दा सानो आयोजक राष्ट्र हो। कतारको जनसङ्ख्या जम्मा ३० लाख मात्र छ। त्यहाँका आठ वटा रङ्गशाला करिब एक घण्टाका दूरीमा छन्। दर्शकहरूलाई ११० मेट्रो ट्रेन तथा चार हजार बसले ओसार्ने छन्। धेरै अर्थमा यो विश्वकप अलि भिन्न हुनेछ।

कति महँगो हुनेछ कतार बसाइ?

ब्रिटेनस्थित दर्शकहरूको सङ्गठन फुटबल सपोर्टर्स एसोसिएसनका सपोर्टर इन्गेजमेन्ट प्रमुख एस्ले ब्राउनका अनुसार विगतका प्रतियोगिताहरूका तुलनामा यसपाली थोरै सङ्ख्यामा मात्र इङल्यान्डका फुटबल प्रेमी कतार पुग्दैछन्। उनले धेरै महँगो हुनु रहेको अनि विश्वकपको समय – सामान्य गर्मीयामको विदाको समयभन्दा फरक – जस्तो कारणले मानिसहरूको भ्रमण योजना प्रभावित भएको बताए।

“धेरै मानिसहरूलाई कतार भ्रमण उति उत्साहजनक नलाग्न सक्छ। किनभने यो सामान्यतया विदा मनाउने गन्तव्य होइन। अनि मदिरा उपलब्ध नहुने, त्यहाँ पुग्न र बस्न लाग्ने खर्चजस्ता विषयले मानिसहरू हच्किएका छन्,” ब्राउनले भने, “(यसो हुनुमा) अहिले बढिरहेको महँगीले पनि पक्कै योगदान गरेको छ।”

दर्शकहरूलाई रहनका निम्ति एपार्टमेन्ट, होटल कोठा, मरुभूमिमा क्याम्पिङ्, भिला, दर्शक ग्रामका साथै तटमा राखिएका क्रुज पानीजहाजजस्ता सुविधा उपलब्ध छन्।

तर कतिपय फुटबल प्रेमीहरूले सीमित स्थान तथा महँगो खर्चको गुनासो गरेका छन्। आयोजकहरूले ३० हजार अतिरिक्त कोठा उपलब्ध गराएका छन्। जसमध्ये दर्शक ग्राममा ठूला पाल तथा क्याबिनहरूमा नौ हजार शैय्या अनि एपार्टमेन्ट र भिलाहरूमा ६० हजार शयनकक्ष पर्छन्। साथै होटलमा ५० हजार कोठा र क्रुज पानीजहाजमा चार हजार कोठा पनि पर्छन्। तर त्यतिले पर्याप्त होला कि नहोला भन्ने प्रस्ट छैन।

दोहा सहरको बाहिर मरुभूमिमा बनाइएका दर्शक ग्राममा निर्माण गरिएका अस्थायी क्याबीनहरूले मिडियाको ध्यान तानेका छन्। तिनलाई सस्तो विकल्पको रूपमा प्रस्तुत गरिएको छ। तिनको मूल्य प्रति रात दुई व्यक्तिका निम्ति २०७ अमेरिकी डलर राखिएको छ।

कतारको औपचारिक वेबसाइटमा एमएससी पोजिया नामक क्रुज पानीजहाजमा प्रति रात १७९ डलर पर्ने भनिएको छ तर कैयन् मितिका निम्ति एउटा डबल बेडको प्रति रातको मूल्य ४५० डलर रहेको छ। ब्राउनका अनुसार प्रारम्भिक खेलहरूका निम्ति बसाइ तथा टिकट गरेर एकजनालाई औसतमा तीन हजार पाउन्ड पर्न सक्छ। पछिल्ला चरणका खेल हेर्ने खर्च पाँच हजार पाउन्ड सजिलै पुग्ने उनले बताए।

सुरुका समूहगत खेलको टिकट गैर कतारीको निम्ति कम्तीमा ६० पाउन्ड छ भने फाइनल खेलको टिकट मूल्य ५०० पाउन्ड छ।

के दर्शकहरूलाई मदिरा उपलब्ध हुन्छ?

टिकट लिएका दर्शकहरूले रङ्गशाला परिसरमा खेलको अगाडि र पछाडि मदिरा किन्न पाउने छन्। तर खेल भइरहेको बेला अनि हाफ टाइमको बेला रङ्गशालामा अल्कोहल रहित बडवाइजर जिरो बियर (प्रतियोगिताको एक प्रायोजक) मात्र बेच्न राखिनेछ। हाल कतारमा आगन्तुकहरूका निम्ति केवल लाइसेन्सप्राप्त होटल रेस्टुराँ तथा बारहरूमा मात्र मदिरा पाइन्छ। प्रतियोगिताका बेला थप निश्चित् ठाउँमा मदिरा पाइने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply