हेमा भट्ट
कञ्चनपुर – कृष्णपुर नगरपालिका, गुलरिया कञ्चनपुरको आयोजनामा सञ्चालन भइरहेको कृष्णपुर नगर स्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०८२ पुस ५ गतेदेखि ७ गतेसम्म आयोजना गरिएको छ । प्रतियोगिताको समापन कार्यक्रम पुस ७ गते दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।
समापन समारोहमा ओलम्पिक खेलाडी तथा राष्ट्रका गहना मानिएका दीपक बिष्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुने भएका छन् । कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका वडा नम्बर ८ निवासी बिष्टको उपस्थितिले प्रतियोगितालाई थप प्रेरणादायी र गौरवमय बनाउने अपेक्षा गरिएको छ ।
कृष्णपुर नगरपालिका वडा नम्बर ७ स्थित श्री कञ्चन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा नगरभित्रका विद्यालयहरूबीच विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता भव्य, सभ्य र अनुशासित वातावरणमा सञ्चालन भइरहेको आयोजकको भनाइ छ ।
खेल अवधिभर खेलाडी, प्रशिक्षक, निर्णायक तथा दर्शकहरूको उल्लेखनीय उपस्थितिले खेलमैदान उत्साहपूर्ण बनेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, स्वयंसेवक तथा स्थानीय समुदायको सक्रिय सहयोगमा प्रतियोगिता शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुँदै आएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडी पहिचान, खेलकुदप्रति विद्यार्थीको आकर्षण वृद्धि तथा स्वस्थ, अनुशासित र प्रतिस्पर्धी खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ


