दुई वर्षमै सत्तामा विजय : तमिल सिनेमाका ‘थालापति’ अब तमिलनाडुका मुख्यमन्त्री

वैशाख २७ – दक्षिण भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता थालापति विजय अब औपचारिक रूपमा भारतीय राज्य तमिलनाडुको सत्ताको नेतृत्वमा पुगेका छन्। चलचित्रको पर्दाबाट करोडौँ दर्शकको मन जितेका विजयले राजनीतिमा प्रवेश गरेको छोटो समयमै ऐतिहासिक सफलता हासिल गर्दै मुख्यमन्त्री पदमा नियुक्ति पाएका हुन्।

तमिलगा वेत्री कजगम (टिभिके) का अध्यक्ष विजयलाई तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकर ले सरकार गठनका लागि आमन्त्रण गर्दै मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ।

राजनीतिमा नयाँ भए पनि विजयको लोकप्रियता र चुनावी रणनीतिले तमिलनाडुको परम्परागत राजनीतिक समीकरण नै बदलिदिएको विश्लेषण भइरहेको छ। सन् २०२४ मा मात्रै स्थापना भएको टिभिकेले पहिलो निर्वाचनमै २३४ सदस्यीय विधानसभामा १०८ सिट जित्दै सबैलाई चकित बनाएको थियो।

विजयले सरकार गठनका लागि आवश्यक समर्थन जुटाएपछि लोक भवन पुगेर राज्यपालसमक्ष दाबी पेश गरेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) लगायत दलहरूको समर्थन पत्र बुझाएका थिए। यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभिकेलाई समर्थन गर्ने घोषणा गरिसकेका थिए।

निर्वाचन परिणामपछि तमिलनाडुको राजनीति तीव्र रूपमा नयाँ मोडमा पुगेको छ। विजय स्वयं दुई निर्वाचन क्षेत्रबाट विजयी भएकाले एउटा सिट छाड्नुपर्नेछ। त्यसपछि टिभिकेको संख्या १०७ मा झर्ने भए पनि सहयोगी दलहरूको समर्थनपछि सरकारसँग १२१ सांसदको बलियो समर्थन रहनेछ, जुन बहुमतका लागि आवश्यक ११७ सिटभन्दा बढी हो।

राजनीतिक उतारचढावबीच शनिबार केही विवाद पनि सतहमा आएका छन्। एएमएमके महासचिव टीटीभी दिनाकरन ले राज्यपाललाई भेट्दै टिभिकेविरुद्ध उजुरी दिएका छन्। उनले आफ्नो दलका विधायकलाई प्रलोभनमा पार्ने प्रयास भएको आरोप लगाएका छन्। सार्वजनिक भएको भिडियो नक्कली रहेको दाबी गर्दै दिनाकरनले त्यसको पछाडि विजय समूहको संलग्नता रहेको आरोपसमेत लगाएका छन्। आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि उनले दिएका छन्।

तमिल राजनीतिमा विजयको उदयलाई धेरैले “सिनेमा स्टारबाट जननेता” को नयाँ अध्यायका रूपमा हेरेका छन्। उनले चुनावी प्रचारका क्रममा “सिठ्ठी अभियान” सञ्चालन गर्दै आफूलाई हरेक तमिल परिवारको सदस्यका रूपमा प्रस्तुत गरेका थिए। सिठ्ठी अर्थात् परिवारभित्रको आत्मीय पात्रलाई परिवर्तन र विश्वासको प्रतीक बनाएर जनतासामु पुगेका विजयको अभियान ग्रामीणदेखि शहरी क्षेत्रसम्म अत्यन्त लोकप्रिय बनेको थियो।

प्रचारका क्रममा विजयले सत्तारुढ डीएमकेलाई “खराब शक्ति” भन्दै सत्ताबाट हटाउने उद्घोष गरेका थिए। उनले भारतीय जनता पार्टीलाई वैचारिक प्रतिद्वन्द्वीका रूपमा चित्रित गर्दै कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने घोषणा गरेका थिए। त्यही रणनीतिअनुसार टिभिकेले एक्लै सबै २३४ क्षेत्रमा उम्मेदवारी दिएको थियो।

चलचित्र क्षेत्रमा दशकौँदेखि सक्रिय विजय तमिल सिनेमाका सबैभन्दा सफल अभिनेतामध्ये एक मानिन्छन्। सन् १९७४ मा चेन्नईमा जन्मिएका उनी चर्चित निर्देशक एस.ए. चन्द्रशेखर का छोरा हुन्। बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेका विजयले पछि ‘गिल्ली’, ‘कथी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता सुपरहिट फिल्ममार्फत “थालापति” अर्थात् कमाण्डरको छवि निर्माण गरेका थिए।

राजनीतिमा प्रवेश गरेपछि पनि विजयको जनआकर्षण कम भएन, बरु त्यो मतमा परिणत भयो। दुई वर्षअघि मात्रै स्थापना भएको दललाई सत्तासम्म पुर्‍याएर उनले तमिलनाडुको राजनीतिक इतिहासमै दुर्लभ उदाहरण प्रस्तुत गरेका छन्।

अब सबैको ध्यान विजय नेतृत्वको नयाँ सरकारले जनअपेक्षा कति पूरा गर्छ भन्नेमा केन्द्रित भएको छ। फिल्मी पर्दामा नायक बनेका विजय वास्तविक राजनीतिक मैदानमा कत्तिको सफल हुन्छन् भन्ने परीक्षा भने अब सुरु हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply