कञ्चनपुर, माघ १४ गते । युवाले गाउँ समाजको नेतृत्व गर्नुपर्छ भन्ने मान्यतालाई चिर्दै कञ्चनपुर र कैलालीमा युवाले भलमन्साका जिम्मेवारी लिन थालेका छन् । गाउँ चलाउन अहिले युवाको सक्षम भुमिका रहेको संदेश दिदै आएका छन् । राजघाटका ओम प्रकाश चौधरी भलमन्सामा सर्वसम्मत चयन भएका छन् । शनिवार राजघाटमा भएको थारु समुदायको भेलाबाट चौधरी सर्वसम्मत चयन हुनु भएको हो। चौधरी विगत १ वर्ष अघिदेखि भलमन्साको पद सम्हाल्दै आउनु भएको थियो। त्यसैगरी अघरियामा जुहारीलाल चौधरी र चौकीदारमा बमबहादुर चौधरीलाई सर्वसम्मतीबाट चयन गएको समुदायले जानकारी गराए । मानिसले माघ महिना भरी गाउँका बडघर (भलमन्सा) सबै मिलेर छनोट गर्ने चलन छ। यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झांकी, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ। धेरै ठाउंमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन ने हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि हुन्छ। बीचमा फेरबदल हुँदैन । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।गाउँको नेतृत्व गर्नका लागि थारु समुदायमा अहिले भलमन्सा (बडघर) चयनको कार्य भइरहेको छ । भलमन्साले विकासदेखि लिएर भोज, भतेरका कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका छन् ।
