लालझाडीमा खखडेहरा महोत्सव आयोजना गरिने

धनबहादुर बिक
कञ्चनपुरको लालझाडीमा खखडेहरा महोत्सव आयोजना गरिने जनाइएको छ । राना कला संस्कृति संरक्षण तथा विकास मञ्चले मंगलबार साँझ लालझाडी गाउँपालिकाको सभा हलमा पत्रकार सम्मेलन गर्दै फागुन ३० र चैत १ गतेका दिन लालझाडीकै नन्द गाउँको खेल मैदानमा खखडेहरा महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।

महोत्सवको माध्यमबाट कला, संस्कृतिको संरक्षण प्रवर्द्धनसँगै मनोरञ्जन प्रदान गर्नुका साथै विशेष गरी रानाथारु समुदायमा शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई सुधार गर्न प्रेरित गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष नारायण रानाको भनाइ छ । “अगर भविष्य बनान हए इच्छा, तओ आजस् देओ गुणस्तरीय औ नैतिक शिक्षा” भन्ने मूल नाराका साथ दोस्रो खखडेहरा महोत्सव २०७९ आयोजना गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा हुने मुख्य गतिविधिहरूमा रानाथारु सांस्कृतिक झाँकी प्रदर्शन, विभिन्न कलाकारद्वारा नृत्य तथा गायन, सामाजिक कुरीति विरुद्ध जनचेतनामूलक नाटक प्रस्तुत, रानाथारू परिकार, स्थानीय व्यवसायका स्टल पसलहरू सञ्चालन, शैक्षिक / सामाजिक विकासका लागि नेतृत्वद्वारा प्रतिबद्धता राखिने जनाइएको छ ।

रानाथारू कला संस्कृतिको संरक्षण तथा खखडेहरा पर्व प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरणको सम्भावनाको खोजी, स्थानीय कलाकार र प्रतिभा पहिचानको अवसर, सांस्कृतिक पर्यटनको सम्भावनाको खोज, शैक्षिक विकासका लागि नेतृत्वलाई ध्यानाकर्षण, रानाथारू समुदायको मौलिक पर्वमा मनोरञ्जन प्रदान, युवाहरूलाई सामाजिक सचेतना तथा मनोबलको विकास शिक्षाको विकासका निम्ति व्याप्त विकृति विरुद्ध सचेतना फैलाई समुन्नत समुदायको खोजी आदि कार्यक्रमका अपेक्षित उपलब्धिहरू रहने आयोजकको दाबी छ ।
सुदूरपश्चिम प्रदेश सरकारले रानाथारू समुदायको मौलिक पर्व खखडेहरामा सार्वजनिक बिदा दिने गरेको छ । यस वर्ष प्रदेश सरकारको वार्षिक क्यालेन्डर अनुसार चैत १ गते सो पर्व परेको छ । सामाजिक मान्यता अनुसार खखडेहरा पर्वको मूल मर्म नै होरी औपचारिक बिदाइसँगै समाजमा रोग व्याधि महामारी लगायत प्रेत आत्माहरूलाई प्राचीन मान्यता अनुसार गाउँवासीहरू संयुक्त रूपमा कुट्ने (खखडेहरा कुटेर फुटाउने) प्रचलन छ र गलत तत्त्वको अन्त्य भएको मान्यता अनुरूप खुसीयाली मनाउने पर्वको रूपमा खखडेहरा रहेको छ तर प्राचीन मान्यता त्यो रहे पनि वर्तमान समयमा प्रायः रानाथारू समुदायको गलत तत्त्वको रूपमा विभिन्न विकृतिहरू छरपस्ट रूपमा रहेका छन् । तिनलाई सुधार्ने अभियानका रूपमा पनि यो महोत्सव सञ्चालन गर्न गइरहेको आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply