धनबहादुर बिक –
कञ्चनपुरकाे पुनर्वासमा रानाथारु समुदायकाे चराई महोत्सव तथा होरी विदाई कार्यक्रम सम्पन्न भएको छ । शनिवार राना समुदायको महत्त्वपूर्ण चाड होली पर्वको समापनको अवसर पारेर पुनर्वास नगरपालिकाले चराई महोत्सव तथा होलि विदाई कार्यक्रम आयोजना गरेको हो । पुनर्वास नगरपालिकाको पैसट्ठी बिघाको मैदानमा उक्त कार्यक्रम को आयोजना गरिएको थियोे । पुनर्वास नगरपालिका उपप्रमुख भुलिया कुमारी रानाको सभापतित्व, नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ट अतिथिमा पुनर्वास नगरपालिका निवर्तमान नगरप्रमुख जीवनराज थापा तथा निवर्तमान उपप्रमुख शारदा बिष्ट हुनुहुन्थ्यो । त्यसैगरी अतिथिका रुपमा पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामा, वडानम्बर २ का वडाध्यक्ष डम्बर थापा लगायतका जनप्रतिनिधिहरु तथा थारु समाजसेवी र बुद्धिजीवीहरु हुनुहुन्थ्यो । कार्यक्रममा मुख्य आकर्षणका रुपमा रानाथारू नेपाली राष्ट्रिय तथा स्थानीय कलाकारहरु र छिमेकी राष्ट्र भारतबाट आउनुभएका रानाथारु कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा नेपाली कलाकार लक्ष्मी राना र भारत उत्तराखण्डका बण्टी राना र रिङ्कु राना सहितको टिमले जोडदार प्रस्तुति दिएका थिए । जसले दर्शक श्रोतालाई भरपुर मनोरञ्जन दिएको थियोे । कार्यक्रममा राना थारुको संस्कृति झल्काउने भेषभूषा, नृत्य तथा विभित्र परिकारहरुको समेत प्रदर्शन गरिएको थियोे । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले रानाथारु जाति संस्कृतिका हिसाबले अत्यन्तै धनी रहेको बताउनुहुँदै यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । त्यसैगरी सभापतिको आसनबाट बोल्दै उपप्रमुख भुलिया रानाले नगरप्रमुख तोय प्रसाद शर्मा लगायत कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमलाई पुनर्वास ८ वडाध्यक्ष राना श्रवण तथा जय बहादुर रानाले सञ्चालन गरेका थिए ।
