कञ्चनपुर। कैलाली र कञ्चनपुरबाट अवैध लागू औषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
भीमदत्त नगरपालिका -१० भुजेला पुलबाट ९.१७ ग्राम चरेशसहित सोही ठाँउ बस्ने जनक बहादुर कार्कीलाई सोमवार राती प्रहरीले पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा कार्कीको साथबाट उक्त पदार्थ फेला पारेको थियो।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका -३ ब्यारेलबाट ७०० मिलीग्राम खैरो हेरोइनसहित वडा -८ बस्ने बर्ष २१ को राहुल राना र बर्ष २० को अरुण रानालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
यसैगरि कैलालीकै गोदावरी नगरपालिका-१ धनगढी रोड सब्जीमण्डीबाट ४०० मिलीग्राम खैरो हेरोइनसहित सोही ठाँउ बस्ने बर्ष २३ को तेज साँउदलाई मंगलवार साँझतिर प्रहरीले पक्राउ गरेको छ।
