छोरी जन्माउने आमालाई कृष्णपुर नगरले दुई हजार भत्ता वितरण गरेका

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ।

चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन्।

‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ। त्यसलाई रोक्न हामीले बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका छौं, यसले भ्रुण चेक गर्ने अपराध कम हुने अपेक्षा राखेका छौं,’ उनले भनिन्।

उनका अनुसार नगरपालिका भित्र अहिले पनि सानै उमेरमा विवाह गर्ने र त्यसैमाथि छोराको आशमा पटक-पटक गर्भपतन गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर परेको छ।

बालिका प्रोत्साहन कार्यक्रमले बालविवाह पनि कम हुने नगरपालिकाले अपेक्षा राखेको छ।

बालिका प्रोत्सान कार्यक्रममा आमाको नागरिकता, विवाह दर्ता, छोरीको जन्मदर्ता लगायतका कागजात र अन्य सबै प्रक्रिया पुरा गरेर खाता खोलिने छ।

छोरी जन्माउने आमालाई उनीहरूले खोलेको खातामा दुई हजार रकम नगरपालिकाले उपलब्ध गर्ने उपप्रमुख रानाले बताइन्।

यसअघि बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि छोरी जन्माउने आमालाई दुई हजार प्रोत्साहन भत्ता दिने कार्यक्रम संचालन गरेको थियो। जसअन्तरगत सयौं महिलाले उक्त भत्ता प्राप्त गरिसकेको गाउँपालिकाले जनाएको छ।

सुदूरपश्चिममा छोराको आशामा भ्रुणको लिंग पहिचान गराउने र छोरी भए असुरक्षित गर्भपतन गराउने काम भित्रभित्रै हुने जानकारहरू बताउँछन्।

‘समाजले छोरा नभई हुँदैन भन्छ, घृणा गर्छ। बुढेसकालमा कसले सहयोग गर्ला, छोरा नभएको परिवार के परिवार भन्छन्। छोरा जन्माउन बाध्य बनाउँछन्,त्यसैले बालिका प्रोत्साहन यस्ता कार्यक्रम सकारात्मक सन्देश प्रवाह हुन्छ,’ उपप्रमुख रानाले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply