धनगढी :- शुक्लाफाँटा नगरपालिकाले गत आर्थिक वर्षमा ८१.३७ प्रतिशत बजेट खर्च गरेको छ। आर्थिक बर्ष २०७९/०८० का लागि विनियोजित अनुमानित बजेट ७० करोड ९५ लाख १३ हजार ६२ रुपैयाँ मध्ये ५७ करोड ७३ लाख ५८ हजार ७ सय ६६ रुपैयाँ खर्च गरेको हो।
बुधबार सार्वजनिक सुनुवाइको अवसरमा नगरपालिकाले यस्तो जानकारी दिएको हो । नगरपालिकाले चालुतर्फ भएको खर्च ९० प्रतिशत अर्थात ४१ करोड ४० लाख ६७ हजार ७ सय ४७ रुपैयाँ, पुजिगत खर्चतर्फ ६६ प्रतिशत अर्थात १६ करोड ३२ लाख ३१ हजार १३ रुपैयाँ, अन्तर सरकारी तर्फ १८ करोड ३६ लाख १५ हजार १ सय ३४ अर्थात ७८ प्रतिशत खर्च भएको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यको ८५.३६ प्रतिशत राजश्व संकलन गरेको छ। २ करोड ७५ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २ करोड ३५ लाख ४८ हजार ४ सय ८ रुपैयाँ राजश्व संकलन गरेको छ।
नगरपालिकाले सामाजिक विकास र पूर्वाधार विकासमा सबैभन्दा बढी बजेट खर्च गरेको नगर प्रमुख रणबहादुर महराले बताए। उनका अनुसार सामाजिक विकासतर्फ २५ करोड ७९ लाख ८९ हजार ८२ रुपैयाँ गरेको छ भने पूर्वाधार विकासतर्फ ११ करोड ९९ लाख ४६ हजार ३ सय ५१ रुपैयाँ खर्च गरेको छ।
नगरपालिकाले गत आर्थिक वर्षमा ३.८३ किलोमिटर सडकको ट्रयाक खोलेको छ। नगरपालिकाले १०.८८ किलोमिटर सडक ग्राभेल, १.३१ किलोमिटर सडक कालोपत्रे, १४.४५ किलोमिटर सडक स्तरोन्नती गरेको नगर प्रमुख महराले बताए।
उनका अनुसार ४ सय ६० मिटर नाली निर्माण, २ सय ९० मिटर नदी नियन्त्रण गरिएको छ। शुक्लाफाँटा नगरपालिकाले बहुबर्षे आयोजनालाई प्राथमिकता दिएर काम अगाडि बढाएको छ।
शुक्लाफाँटा– ११ कलुवापुरमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणधिन अवस्थामा छ। यस्तै, नगरस्तरीय कभर्ड हल, १२ वटै वडा जोड्न नगरचक्रपथ र खानेपानी आयोजनाको पनि काम भइरहेको छ। बन्साहमा निर्माणाधिन कभर्ड हलको ९० प्रतिशत काम सम्पन्न भएको छ भने वडा नं. १० स्थित खुला मञ्चमा प्याराफिट निर्माण गरिएको छ ।
यस्तै, नगरपालिकाले वडा नं. ६ र वडा नं. ३ को वडा कार्यालय भवन निर्माण गरेको छ भने वडा नं. ३ र वडा नं. ७ मा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ ।
वडा नं. ९ मा नगर उद्यान निर्माणको काम सुरुवात गरेको छ। शुक्लाफाँटा–४ पिपलाडीमा निर्माणाधिन १० शैया नगर अस्पतालको ४० प्रतिशत भौतिक प्रगति भएको छ भने एक बर्ष म्याद थप गरिएको छ।
नगरपालिका गत आर्थिक वर्षमा नगरभरिमा ३ सय सडक बत्ती र ११ वटा सोलार बत्ती जडान गरेको छ भने ५० वटा विद्युतिय पोल खरिद गरेको छ। यसैगरी, नगरपालिकाभरिमा ६६ वटा टीबोरिङ जडान, २ वटा मल्टीस्पानट्रस पुल निर्माण (वडा नं. ९ नौखुरी, वडा नं ७ टोटी), निर्माण योजनाकोगुणस्तर चेक जाच गर्न मसिन र सवारी साधन समेत खरिद गरिएको छ। सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार बिष्णु अवस्थी र अशोक पान्डेले गरेका थिए ।
