पुष ७
प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल्ने बैतडीको टोली घोषणा गरिएको छ। बसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो । टोलीका अन्य सदस्यहरूमा उपकप्तान रिसिकेश बोहरा,विकेटकिपर नरेश चन्द, खडक बोहरा,गजेन्द्र बोहरा,हिक्मत महरा,प्रदीप चन्द, सुदीप टमाटा,डम्बर तिरूवा,भुपेन्द्र चन्द,सन्तोष चन्द,आयुश चन्द,नरेन भट्ट र विरेन्द्र चन्द रहेका छन् । यस्तै विरेन्द्र नाथ,लोकेश चन्द,महेन्द्र मार्कण्ड र मधुर विष्ट वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन्।
हालै सम्पन्न बिडिसिए कपमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो ।
प्रदेशस्तरीय छनौट भोलि पुस ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुदैछ । बैतडीको पहिलो खेल पुस १४ गते दशरथचन्द खेल मैदानमा प्लेट च्याम्पियन बन्ने टोलीसंग रहेको छ । यसवर्षदेखि प्लेट च्याम्पियनसिप र ईलिट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट हुदैछ । प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी हुनेछन् । गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो । बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो ।
