एक सय रुपैयाँमा पढाउने भनेर कर्णालीमा खुलेका ‘समता स्कुल’ बन्द

माघ ८
२०७४ सालको अन्तिमतिर ‘समता शिक्षा निकेतन’ को एक टोली कालीकोट पुग्यो। कालीकोटमा स्कुल खोल्ने योजना थियो। टोलीले स्थानीय राजनीतिक दलका सक्रिय प्रतिनिधि र केही समाजसेवीहरूसँग भेट र छलफल गर्‍यो।

सन् २००१ मा स्थापना भएको समता शिक्षा निकेतनले मासिक एक सय रुपैयाँ शुल्कमा शिक्षा दिने अभियान चलाएको थियो। समता शिक्षाका प्रतिनिधिहरूले कालीकोटमा पनि सय रुपैयाँमै शिक्षा दिने अंग्रेजी माध्यमको स्कुल खोल्न चाहेको भनेर छलफल चलाए। छलफलमा सहभागी कालीकोटवासीलाई त्यस्तो स्कुल खोल्ने प्रस्ताव मन नपर्ने कुरै भएन।

२०७५ वैशाख १ गते पढाइ सुरु गर्ने गरी कालीकोट सदरमुकाम मान्मामा ‘समता स्कुल’ स्थापनाको प्रक्रिया अघि बढ्यो। प्रक्रिया पूरा गर्नमा राजनीतिक दलका स्थानीय प्रतिनिधि र अगुवा समाजसेवीहरूले सहयोग गरे।

‘समताका साथीहरू कालीकोट आउनुभयो। उहाँहरूले स्कुल खोल्न चाहनुभएको रहेछ। हामीले सहयोग गर्‍यौं,’ नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण शाहीले भने, ‘हामी स्वयंसेवक सल्लाहकार भएर सल्लाहसुझाब दियौं, स्कुल खोल्ने प्रक्रियामा सहयोग गर्‍यौं।’

पहिलो वर्ष स्कुल निकै राम्रो चल्यो तर लगत्तै दोस्रो वर्षमै खस्कियो। बिस्तारै समता शिक्षा निकेतनका मान्छेहरू सम्पर्कमा आउन छाडे। आर्थिक व्यवस्थापन कमजोर हुँदै स्कुल बन्द भयो।

चार वर्ष भयो, स्कुल बन्द छ तर समता शिक्षा निकेतनका मानिस सम्पर्कमा छैनन्। शिक्षक–कर्मचारीको तलब दिएका छैनन्, घरभाडा पनि तिरेका छैनन्।

समता शिक्षा निकेतनले २०७५ वैशाख १ गतेदेखि २०८० वैशाख १ गतेसम्मका लागि मासिक ३० हजार रुपैयाँ तिर्ने गरी स्थानीयवासी नरेन्द्र उपाध्यायको घर भाडामा लिएको थियो। सम्झौताको म्याद सकियो तर उनले भाडा बापतको रकम पाएका छैनन्।

हालसम्म ३ लाख ६५ हजार रुपैयाँ मात्र पाएको उनले बताए। उनी भाडा पाउन आठ महिनाअघि अदालत पुगेका छन्।

समता स्कुलका सामान एउटा कोठामा थन्क्याएर नरेन्द्रले घर अर्को निजी स्कुललाई घर भाडामा दिएका छन्।

‘तीन वर्षको भाडा दिएका छैनन्। एक वर्षको छुट भयो, दुई वर्षको देऊ भनेको थिएँ तर समताका मान्छे सम्पर्कमा आएका छैनन्, उपाध्यायले भने, ‘बारम्बार प्रयास गर्दा पनि सम्पर्कमा नआएपछि आफ्नो पैसा असुल्न म अदालत पुग्नुपर्ने भयो।’

सम्झौता सकिन लागेपछि आफूले समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलका भाइ दीपकलाई सम्पर्क गरी भाडा दिएर घर खाली गरिदिन पटकपटक आग्रह गरेको उनले बताए।

‘स्कुल दोस्रो वर्ष नै बन्द भयो। मैले फोन गर्दा आउँछौं भने पनि स्कुल चलाउने मान्छे आएनन्,’ उनले भने, ‘मलाई विश्वास लाग्न छोडेपछि २०७९ फागुनमा नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएँ। न्यायिक समितिले पनि फोन गरेको हो। चिठी पनि पठाएको हो तर कोही पनि सम्पर्कमा आएन।’

सम्झौताको म्याद सकिएपछि उनले प्रहरीलाई जानकारी गराएर समता स्कुलका सामान एउटा कोठामा थन्क्याए अनि घर अर्को स्कुललाई दिए।
समता शिक्षा निकेतनका संस्थापक र व्यवस्थापकहरूलाई सल्लाहकारहरूले पनि बारम्बार सम्पर्क गरेका थिए तर स्कुल चलाउने, भाडा तिर्ने र शिक्षक–कर्मचारीलाई तलब दिने विषयमा स्पष्ट कुरा आएन।

स्कुलका प्रधानाध्यापक, शिक्षक, लेखापाल र कार्यालय सहयोगी गरी ८ जनाले तलब पाएका छैनन्।

नेपाली कांग्रेसका जिल्ला सदस्य लक्ष्मण शाही, स्थानीय समाजसेवी सविनकुमार विष्ट र कांग्रेस नेता तथा अधिवक्ता हिक्मतबहादुर विष्ट सल्लाहकार थिए। हिक्मतबहादुर हाल कर्णाली प्रदेशका प्रदेश सभा सदस्य छन्।

स्कुल बन्द हुने अवस्था आएपछि आफूले संस्थापक र व्यवस्थापकहरूलाई सम्पर्क गर्दा उनीहरूले बेवास्ता गरेको शाहीले बताए। सबैभन्दा पछिल्लो सम्पर्कमा ‘कसको कति पैसा तिर्नु छ भनेर रेकर्ड राखेका छौं, स्कुल चलाउन नसक्ने भयौं’ भनेर पन्छिएको उनले बताए।

उनका अनुसार सञ्चालक समिति बनेको थिएन। उनीहरू स्वयंसेवक सल्लाहकार मात्र थिए। संस्थापक उत्तम सञ्जेल कहिल्यै सम्पर्कमा आएनन्। उनका भाइ दीपक र सुदर्शन पौडेल नामका अर्का व्यक्ति कुरा गर्थे।

घर भाडामा लिँदा तीनै जना सल्लाहकार साक्षी बसेको शाहीले बताए।

पहिलो वर्ष समता शिक्षाको काठमाडौंस्थित निकायले नै स्कुलको व्यवस्थापन हेरेको थियो, कुनै समस्या थिएन। बीचमा क्लस्टर (क्षेत्र) तोकियो, त्यसपछि समस्या सुरु भयोे।

‘हामी सिधै काठमाडौंमा सम्पर्क गरेर पोसाक र किताब मगाउँथ्यौं। दोस्रो वर्ष विद्यार्थी चाप अत्यधिक भयो। काठमाडौंबाट क्लस्टर हेर्ने व्यक्ति तोकियो,’ शाहीले भने, ‘प्रधानाध्यापकले पोसाकको पैसा उठाएर क्लस्टरमा पठाए तर पोसाक थोरै आयो। त्यो पनि सानोठूलो भएर फिर्ता गयो। त्यसपछि आएन।’

किताब पनि आएन। स्कुल अस्तव्यस्त भयो। त्यसपछि विद्यार्थीहरू अरू स्कुलमा गएको शाहीले बताए। कर्णाली क्लस्टर हेर्ने जिम्मेवारी कोहलपुरका रवि रोकायाले पाएका थिए।

यस सम्बन्धमा कुरा गर्दा रोकायाले पछिल्लो समय आफू क्लस्टरमा सक्रिय नरहेको र दुर्गममा खोलिएका स्कुलबारे जानकारी नभएको बताए।

‘म पनि स्वयंसेवकका रूपमा काम गर्थें। त्यसरी सधैँ काम गर्न सकिने भएन। मलाई त कति वटा स्कुल छन् भन्ने पनि जानकारी छैन,’ उनले भने, ‘मलाई क्लस्टर हेर्ने भनेर जिम्मेवारी दिएको भने पनि खास काम केके हो भनेर तोकिएको थिएन।’

स्कुल खोलेको संस्थाले बेवास्ता गरे पनि सुरु भइसकेको स्कुल चलाउन आफूहरूले पहल गरेको तर सफल नभएको शाहीको भनाइ छ।

‘घरभाडा नदिएपछि घरमालिकसँग समस्या भयो। तलब नपाएपछि शिक्षक–कर्मचारी नियमित भएनन्,’ उनले भने, ‘समताको टिम नियमित सम्पर्कमा भइदिएको भए सजिलो हुन्थ्यो। क्लस्टरको हवाला दिएर पन्छिएपछि सबै भताभुंग भयो।’

घरमालिकलाई न्यायिक प्रक्रियामा जान आफूहरूले नै सुझाएको शाहीले बताए। आफू साक्षी बसेको हुनाले छलफलका क्रममा सहयोग गर्ने पनि उनले बताए।

कति लिन्थ्यो शुल्क?

समता शिक्षा निकेतनले मासिक सय रुपैयाँमा शिक्षा दिने भने पनि अन्य विभिन्न शीर्षकमा थप शुल्क लिन्थ्यो।

भर्ना शुल्क एक हजार र मासिक शुल्क एक सय गरेर पहिलो महिना एक हजार एक सय रुपैयाँ तिर्नुपर्थ्यो। त्यसपछि मासिक सय रुपैयाँ लिन्थ्यो। पोसाक र पुस्तकका लागि अलग्गै पैसा तिर्नुपर्थ्यो।

समता शिक्षा निकेतनले मासिक सय रुपैयाँ शुल्कमा अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिने भनेर कर्णालीका कालीकोट, जुम्ला, मुगु र डोल्पामा स्कुल खोलेको थियो। हाल ती सबै स्कुल बन्द छन्।

‘जुम्ला र मुगुमा हामी आफैँ पुगेर स्कुल स्थापना गरेका हौं। त्यो जिम्मा हामीलाई नै दिइएको थियो,’ शाहीले भने, ‘अहिले ती स्कुुल चलेका छन् कि बन्द छन्, हाम्रो सम्पर्क छैन।’

मुगुको स्कुल बन्द भएको एक वर्ष भयो। त्यहाँका शिक्षक–कर्मचारीले तलब नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय गुहारेका छन्।

‘शिक्षक–कर्मचारीले एक वर्षदेखि तलब पाएका रहेनछन्। उनीहरूले सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। नगरपालिकालाई बोधार्थ पठाएका छन्,’ छायानाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले भने, ‘निवेदन आएपछि मैले समता शिक्षा निकेतनका व्यक्तिलाई फोन गरेको थिएँ। उहाँहरूले अब हामी स्कुल चलाउन सक्दैनौँ भन्नुभयो।’

चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौँलागाईंका अनुसार जुम्लामा खुलेको भनिएको समता स्कुल नगरपालिकाको अभिलेखमा छैन। स्कुल खोल्न नगरपालिकामा कुरा पुगेको भए पनि अनुमति नदिएको उनले बताए।

डोल्पा सदरमुकाममा खुलेको समता स्कुल पनि चालु शैक्षिक वर्षमा बन्द भयो। डोल्पामा तीन कक्षासम्म चलाउने अनुमति पाएको भए पनि अहिले नामनिशान नरहेको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख डिलप्रसाद रोकायाले बताए।

उनले भने, ‘उहाँहरूले हामीलाई विधान पनि दिन सक्नुभएन। चालु शैक्षिक वर्षबाट बन्द छ। बन्द हुनुको कारण पनि जानकारी गराउनुभएको छैन।’

समता शिक्षा निकेतनले दैलेखमा खोलेको स्कुल भने चलेकै छ। नारायण नगरपालिकाका शिक्षा प्रमुख पूर्णप्रसाद उपाध्यायका अनुसार हाल पाँच कक्षासम्मको अनुमति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply