१३ जेठ धनगढी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापाको दमक नगरमा एक लाख बिरूवा रोप्ने अभियान सुरू गरेको छ।
पूर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत माओवादी केन्द्रले फलफूलका बिरूवा रोपेको हो।
आइतबार माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर राई काङवाङले बिरूवा रोपेर अभियान सुरू गरे।
अभियानभरि दमक नगरमा लिची र कागतीका एक लाख बिरुवा रोप्ने माओवादी केन्द्र कोशी प्रदेश कमिटी सचिवालय सदस्य वीरेन्द्र बस्नेतले जानकारी दिए।
संगठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोपिने उनले बताए। उनले एक वर्षभरिमा एक लाख बिरूवा रोपि सक्ने बताए।
जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउन लागिएको बस्नेतले बताए।
बिरुवा रोप्नेसँगै सशस्त्र युद्धका बेला सहयोग गर्ने दमकका एक हजार २ सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ।