वैशाख ९
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष राजीनामा बुझाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी दिएका छन् ।
उनले पछिल्ला दिनहरूमा नागरिकस्तरबाट आफ्नो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएकाले राजीनामा दिएको जनाएका छन् ।
उनले आफ्ना लागि पदभन्दा ठुलो कुरा नैतिकता भएकाले आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । जनविश्वासभन्दा ठुलो शक्ति अरू कुनै हुँदैन भन्दै उनले आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको आन्दोलनले पनि यही सन्देश दिएको बताए ।
उनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ भन्दै ४६ जना भाइबहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो भनेका छन्।
