कुवेतमा मजदुर बस्ने भवनमा आगलागी हुँदा मृत्यु भएकामध्ये ४० जना भारतका, तीन नेपाली घाइते

३१ जेठ धनगढी
कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा आगलागी हुँदा मृत्यु भएका ४९ जनामध्ये ४० जना भारतीय रहेको खुलेको छ।

बुधबार बिहान मन्गाफ जिल्लामा मजदुरहरूको आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ जना पुगेको र तीमध्ये ४० जना भारतका रहेको पुष्टि भएको छ। उनीहरू केरल र तामिलनाडुका रहेको पनि खुलेको छ।

भवनमा डेढसय भन्दा बढी मजदुरहरू बस्थे। अधिकांश तेल कम्पनीमा काम गर्ने केही मजदुरहरू बस्ने बताइएको छ। केही आगो फैलिनुभन्दा अगाडि नै भाग्न सफल भएका र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको बिबिसीले जनाएको छ।

उक्त भवनमा नेपालका पाँच मजदुर पनि रहेको बताइएको छ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले पाँचमध्ये तीन जना घाइते भएको र दुई जना सुरक्षित रहेको बिबिसीसँग बताएका छन्।

उनले घाइतेहरुको अवस्था बुझ्न दूतावासको टोली अस्पताल पुगेको पनि बताएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेश राज्यमन्त्री कीर्तिवर्द्धन सिंहलाई कुवेत पठाएका छन्।

बुधबार नै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकको परिवारलाई २/२ लाख रूपैयाँ दिने निर्णय गरेको छ।

घाइतेहरूको पाँच अस्पतालमा उपचार भइरहेको र भवनका मालिकलाई त्यहाँको प्रहरीले पक्राउ गरिसेकेको छ।

आगलागी किचनबाट सुरू भएको भनिएको छ।

यसबारे सत्यतथ्य अनुसन्धान गरी पत्ता लगाउन भारतका विदेशमन्त्री एस जयशंकरले कुवेतस्थित समकक्षी अब्दुल्ला अली अल-याह्यासँग कुराकानी गरी घटनाबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply