धनगढी,असार १०
बैतडीका सबै स्थानीय तहले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले ८८ करोड ४५ लाख ९२ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र नगर क्षेत्रभित्र भौतिक पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले जानकारी दिए । पुर्चौंडी नगरपालिकाले पनि सोमबार १५ औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिएको जनाएको छ ।
नगरसभामा उपप्रमुख मीना धानुकले ६२ करोड ४ लाख ९९ हजार ५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । नगरसभामा नगर प्रमुख दिपकबहादुर बमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । पुर्चौंडीको समग्र विकासका लागि बजेट ल्याइएको उनले बताए ।
पाटन नगरपालिकाले ६३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार पाँचौं नगरसभा तथा प्रथम अधिवेशनमा उपप्रमुख कमलसिंह बोहराले पेश गरेको बजेट पारित भएको छ । नगरसभामा नगर प्रमुख गौरीसिंह रावलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख बोहराले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको हो ।
आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाभरी रहेका दलित समुदायका हरेक घरमा एक घर एक धारा निर्माण अभियान सञ्चालन गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको र त्यसका लागि बजेटको व्यवस्थापन गरिनुका साथै कफी खेती विस्तार र मौरीपालन विस्तारमा नगरपालिकाले बिशेष ध्यान दिइने उपप्रमुख बोहराले बताए । पाटनले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा ६५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य समेत राखेको छ ।
जिल्लाको मेलौली नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड बढीको अनुमानित बजेट नगरसभामा पेश गरेको छ । १४ औं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख भीमबहादुर चन्दले आगामी आर्थिक बर्षका लागि ४९ करोड ५ लाख ९५ हजार बराबरको अनुमानित बजेट पेश गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए ।
सभामा पेश भएको बजेटमाथि थप छलफल गरेर संशोधनसहित पारित हुनेछ । नीति तथा कार्यक्रम र बजेटमा आएका सुझावहरुलाई समेत समेटेर नगरसभाको अर्को बैठकले पारित गर्ने मेलौली नगरपालिकाका उपप्रमुख पार्वती बोहरा विष्टले जानकारी दिए ।
यस्तै शिवनाथ गाउँपालिकाले आगामी आर्थिकका लागि ३५ करोड २३ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार गाउँसभाको १३ औं अधिवेशनमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले जानकारी दिए ।
गाउँसभामा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले गाउँपालिकाको नीति तथा कार्यक्रम र उपाध्यक्ष शकुन्तला साउँदले आर्थिक विधेयक प्रस्तुत गरेका हुन् । सभामा गाउँपालिका प्रवक्ता केशवबहादुर चन्दले विनियोजन विधेयक प्रस्तुत गरे ।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयसंग अध्यक्ष कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
शिवनाथ गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणाका लागि आवश्यक बजेट र कार्यक्रम तय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । यस्तै लैंगिक हिंसामुक्त पालिका घोषणाका लागि पालिकाले पहल गर्ने उल्लेख गरिएको छ ।
नसर्ने रोगहरुको जोखिम बढ्दै गएकाले गाउँपालिकाबासीहरुको उपचारमा पहुँच पुर्याउन आगामी आर्थिक बर्षमा गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिने र शर्मालीमा सञ्चालनमा आएको ग्रामप्रकाश बहुमुखी क्याम्पसको स्तरोन्नती गरिने बताइएको छ ।
यस्तै एक वडा एक खेलमैदान कार्यक्रमलाई पालिकाले निरन्तरता दिने बताइएको छ । विगतमा सञ्चालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिँदै कृषि क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
दोगडाकेदार गाउँपालिकाले सोमबार गाउँसभाको १३ औं अधिवेशनमा ५१ करोड २० हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कीले गाउँपालिकाको नीति तथा कार्यक्रम र गाउँपालिका प्रवक्ता दिनेश प्रसाद भट्टले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरे ।
शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
जिल्लाको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।
गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष धाना धामीले प्रस्तुत गरेर बजेट सभाबाट पारित भएको हो ।
पारित बजेट गाउँपालिकाभित्रका सडकलाई स्तरोन्नती गर्ने कामलाई प्राथमिकता दिने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गर्ने, संस्थागत सुशासनको क्षेत्रलाई विस्तार गर्ने लगायतका योजनामा केन्द्रित रहेको जनाएको छ ।
यस्तै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले सभामा पेश गरेको नीति तथा कार्यक्रम पनि पारित भएको छ । सिगास गाउँपालिकाको समग्र विकासका लागि नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष धामीले बताए ।
सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५१ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले उक्त बजेट सार्वजनिक गरे ।
आगामी आर्थिक बर्षका लागि गाउँसभामा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष कुँवरले गाउँपालिकाले तय गरेका नीति र कार्यक्रमलाई सफल बनाउन बजेट विनियोजन गरेको बताए ।
यसका साथै पञ्चेश्वर गाउँपालिकाले पनि आगामी वर्षका लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष बिना भट्टका अनुसार शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर ४० करोड ४२ लाख ८१ हजार बराबरको बजेट अनुमान गरिएको बताए ।
डिलाशैनी गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक विकासलाई प्राथमिकतामा राखेर ६० करोड ८३ लाख ४० हजार बराबरको बजेट ल्याएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले जानकारी दिए ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।
