यसपालि एसइईमा डी ग्रेड ल्याउने ६ जना मात्रै

धनगढी,असार १३
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको छ।

यसपालि परीक्षा दिएका ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये ४७.८६ प्रतिशत उत्तीर्ण भएका छन्। यसपालि १८६ जनाले ४ जिपीए ल्याएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३१ हजार २०९ परीक्षार्थीले ३.६० देखि ४ जिपिए ल्याएका छन्।

६८ हजार परीक्षार्थीले ३.२० देखि ३.६० जिपिए ल्याएका छन्। २.८० देखि ३.२० सम्म जिपिए ल्याउने परीक्षार्थीको संख्या ७८ हजार ८७४ छ।

२.४० देखि २.८० जिपिए ल्याउनेको संख्या ४१ हजार १७७ छन्। यसपालि ६ जनाले मात्रै १.६० देखि २.० जिपिए ल्याए।

अघिल्लो वर्ष १.६० देखि २.० जिपिए ल्याउने विद्यार्थीको संख्या १८ हजार २४ जना थिए। यसपालि कसरी ६ जनाले मात्रै उक्त जिपिए ल्याए।

बोर्डले यसपालि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो। उक्त निर्देशिकामा सैद्धान्तिक र आन्तरिक मूल्यांकन फरक-फरक गर्ने व्यवस्था छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनुपर्नेछ।

सैद्धान्तिकतर्फको ७५ पूर्णांकको विषयमा कम्तिमा २७ अंक र आन्तरिकतर्फको २५ पूर्णांकमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ। त्यसकारण १.६ देखि २.० जिपिए ल्याउने परीक्षार्थीको संख्या ६ जना मात्रै भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए।

‘थ्योरीमा पनि ३५ अंक ल्याउनुपर्ने भयो । बल्ल बल्ल पास हुनेहरू एकाधमात्रै भए। अरू सबै माथि जाने भए। त्यसकारण यति मात्रै भए,’ उनले भने।

लेटर ग्रेडिङ निर्देशिका २०७८ ले ए प्लसदेखि डी ग्रेडसम्म निर्धारण गरेको छ। यसअघि डी प्लस र ई सम्म हुनेमा त्यसमा पर्ने सबै परीक्षार्थीहरू यसपालि नन ग्रेडमा परेका छन्।

अघिल्लो वर्ष डी ग्रेड ल्याउने विद्यार्थीको संख्या ३८ हजार ७७० र ई ग्रेड ल्याउने परीक्षार्थीको संख्या २ हजार २ सय थियो। यसरी हेर्दा ४० हजार २ सय विद्यार्थीले कुनै विषयमा ३५ भन्दा कम अंक प्राप्त गरेका थिए।

यसपालि कुल परीक्षार्थीमध्ये ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले सिधै कक्षा ११ पढ्न पाउने छैनन्। उनीहरूले पुरक परीक्षा दिनुपर्छ।

परीक्षा नियन्त्रक पौडेलले भने तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यसपालि नतिजा सुधार भएको बताए।

‘३.६- ४ आउनेको संख्या २ प्रतिशत बढ्यो। पोहोर चार प्रतिशत थिए । अहिले ६ प्रतिशत भए। ३.२-३.६ ल्याउने तीन प्रतिशत बढ्यो। पोहोर ११ प्रतिशत थियो। अहिले १४ प्रतिशत भयो। २.८ देखि ३.२ ल्याउने पोहोर १४ थिए अहिले १६ भए,’ उनले भने।

यसरी हेर्दा माथिल्लो ग्रेड ल्याउने विद्यार्थी संख्या बढेका कारण यो वर्षको नतिजा विगतको भन्दा राम्रो भएको उनले बताए। नन ग्रेडमा परेकामध्ये २ विषयमा मात्रै कम अंक आएका विद्यार्थीले साउनमा सञ्चालन हुने पूरक परीक्षामा सामेल हुन पाउनेछन्।

परीक्षा नियन्त्रक पौडेलका अनुसार १ लाख १५ हजार परीक्षार्थीको दुई विषयमा भन्दा कम अंक आएको छ।

‘ती विद्यार्थीहरूले साउनमा ‍पूरक परीक्षा दिनेछन्। बाँकीले जुन जुन विषयमा कम अंक आएको छ सोही विषयमा अर्को वर्ष परीक्षा दिनेछन्,’ उनले भने।

अघिल्लो वर्ष १० हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिएका थिए। यसपालि एसइई परीक्षा दिएका १ लाख भन्दा बढी विद्यार्थीले ११ पढ्न पाउने छैनन्।

‘नन ग्रेडमा धेरै विद्यार्थी पर्नु राम्रो त होइन। तर गुणस्तरीय शिक्षा सबैको चाहना हो। यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्यो भनेर यसो गरिएको हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply