हेमा भट्ट वैशाख ११ धनगढी
कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ स्थित मज्गै तेक्वान्दो खेलमैदानबाट प्रशिक्षक तथा कोच प्रशान्त चौधरीको नेतृत्वमा एक टोली भारतको देहरादुनतर्फ प्रस्थान गरेको छ। देहरादुनमा आयोजना हुन गइरहेको ३ दिने नेशनल ग्याममा सहभागी हुन उक्त टोली आज दिउँसो तयारीका साथ प्रस्थान गरेको हो।

टोलीमा हसिना राना, विकास चौधरी, दिपा राना, अनुपा चौधरी, भुवन बोहरा, पायल सुनार, सृष्टि भण्डारी, जेनिस खड्का लगायतका खेलाडीहरू रहेका छन्। प्रशिक्षक चौधरीका अनुसार सबै खेलाडीहरू उच्च मनोबल र विशेष तयारीका साथ प्रतियोगितामा सहभागी हुन गइरहेका छन्। उनले भने, “मेरा खेलाडीहरू इमानदारीपूर्वक प्रतिस्पर्धा गर्दै आएका छन्, यसपटक पनि जित्ने सम्भावना रहेको उनलेे बताए।”

खेलाडीहरूले प्रतियोगिता प्रस्थानअघि ‘खेल जीवन हो’ भन्दै उत्साह व्यक्त गरेका थिए। तर उनीहरूले सरकारबाट अपेक्षित सहयोग नपाएको भन्दै गुनासो पनि व्यक्त गरे। प्रशिक्षक चौधरीले भने, “मैदान त छ तर भवन छैन, वर्षामा भिजेर, गर्मीमा घाममा र हिउँदमा चिसो चौरमा अभ्यास गर्न बाध्य छौँ उनलेे बताए ।”
उनले स्थानीय तहदेखि प्रदेशसम्म पटक–पटक ध्यानाकर्षण गराएको भए पनि अझैसम्म कुनै सार्थक सहयोग नपाएको बताए। घरायसी आर्थिक अवस्था कमजोर हुँदा खेलाडीहरूको सम्पूर्ण व्यवस्थापन सम्भव नभएको उनको भनाइ छ। तथापि, मज्गै तेक्वान्दोका खेलाडीहरूले अघिल्ला प्रतियोगिताहरूमा पटक–पटक स्वर्ण पदक जित्दै आएको उल्लेख छ।खेलाडीहरूको उत्साह, इमानदार प्रयास र प्रशिक्षकको समर्पण प्रशंसायोग्य छ। स्थानीय र प्रदेश सरकारहरूले यस्ता प्रतिभालाई चिन्नु र सहयोग गर्नु आवश्यक देखिन्छ। खेल क्षेत्रमा लगानी राष्ट्रको गौरवमा लगानी हो।

