हेमा भट्ट, बैतडी
बैतडी – महिला तथा एकल महिलामाथि हुने लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर-५ मा सञ्चालन भइरहेको सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। वडा कार्यालयको आयोजनामा भइरहेको उक्त अभियान अन्तर्गत हालसम्म ५ टोलमा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी १२ वटै टोलमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अला बस्ती, साजीबटा र मार्कण्ड गाउँलगायतका क्षेत्रमा आयोजित कार्यक्रममा महिला तथा एकल महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा घरेलु हिंसा, लैङ्गिक विभेद, सामाजिक दबाब तथा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाबारे जानकारी दिँदै कानुनी अधिकार, आत्मरक्षा, आत्मनिर्भरता र सामाजिक सहभागितासम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमको सभाध्यक्षता वडा सदस्य नन्दा भट्टले गरेकी थिइन्। उनले महिलाहरू अब अन्याय सहेर चुप लागेर बस्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै हिंसाविरुद्ध खुलेर आवाज उठाउन र एकअर्कालाई साथ दिन आग्रह गरिन्। समाज रूपान्तरणका लागि महिलाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा दशरथचन्द नगरपालिका की उपप्रमुख कौशीला चन्दले महिलामाथि हुने हिंसा अन्त्यका लागि स्थानीय तहले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। उनले महिला अधिकार केवल कागजमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आत्मविश्वासी, शिक्षित र सशक्त महिला नै समृद्ध समाजको आधार भएको उल्लेख गरिन्।

“महिलाले आफ्ना अधिकारबारे जान्नुपर्छ, अन्याय सहेर बस्ने होइन, आवश्यक परे कानुनी प्रक्रियामार्फत न्याय खोज्नुपर्छ,” उपप्रमुख चन्दले भनिन्। उनले ग्रामीण क्षेत्रका महिलालाई आत्मनिर्भर र सशक्त बनाउन नगरपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

सहभागी महिलाहरूले यस्ता कार्यक्रमले आफूहरूलाई अधिकारप्रति सचेत बनाउनुका साथै अन्यायविरुद्ध आवाज उठाउने हौसला मिलेको प्रतिक्रिया दिएका थिए। ग्रामीण क्षेत्रमा अझै पनि धेरै महिला हिंसा सहेर बस्न बाध्य रहेको अवस्थामा समुदायस्तरसम्म पुगेर सञ्चालन गरिएका यस्ता कार्यक्रम प्रभावकारी र सान्दर्भिक भएको स्थानीयवासीको भनाइ छ।
वडा नम्बर-५ ले समुदायमै पुगेर सञ्चालन गरिरहेको महिला सशक्तीकरण तथा लैङ्गिक हिंसा न्यूनीकरण अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।
