ओलानीका किसानलाई भैँसी वितरण

वैशाख १३ धनगढी
कैलालीको गोदावरी नगरपालिका–११ मा रहेको गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडले किसानलाई भैँसी वितरण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको ५० प्रतिशत अनुदानमा सहकारीले शनिवार ८ जना किसानलाई ८ वटा भैँसी वितरण गरेको हो ।

सहकारीले आर्थिक अवस्था कमजोर भएका किसानलाई भैँसी वितरण गरिएको सहकारीका अध्यक्ष कृष्ण विकले बताए । उनले किसानको आर्थिक अवस्था सुधारका लागि भैँसी सँगै घाँस काट्ने मेसिन लगायतका सामान वितरण गरिएको बताए ।

भैँसी वितरण तथा सामाग्री वितरण कार्यक्रमका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीबाट ५ लाख ६० हजार र सहकारीबाट ५ लाख ६० हजार गरी ११ लाख २० हजारमा ८ वटा मुर्रा क्रस भैँसी, ५ वटा घाँस काट्ने मेसिन र ८ वटा डुँड वितरण गरिएको सहकारीका व्यवस्थापक गणेश बहादुर विकले बताए ।

भैँसी वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका वडा नम्बर ११ का वडा सदस्य दिल बहादुर साउदले अनुदानमा भैँसी पाएका किसानलाई यसको सदुपयोग गर्न आग्रह गरे ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका पशु विकास अधिकृत विजय राम दमाईले अनुदानमा पाएको भैँसीको सदुपयोग गर्न आग्रह गर्दै ओलानी क्षेत्रलाई भैँसी पकेट क्षेत्रका रूपमा विकास गर्नको लागि कार्यक्रमले सहयोग गर्ने बताए ।

गोदावरी नगरपालिका – ११ का पूर्व वडाध्यक्ष शिव विकले गोदावरीको ओलानी क्षेत्र भैँसी पालनका लागि उपयुक्त ठाउँ भएको बताए । उनले ओलानीमा परम्परागत घाँस पनि पाउने र घाँस खेतीको पनि राम्रो सम्भावना भएको ठाउँ भएकाले भैँसी पालनका लागि उपयुक्त भएको बताए । उनले ओलानीमा दूध उत्पादन बढाउन सके बजारको पनि समस्या नहुने बताए ।

किसान खुसी

अनुदानमा भैँसी पाएपछि किसानले खुसी व्यक्त गरेका थिए । स्थानीय किसान विमला खत्रीले सहकारीले भैँसी वितरण गरेर जीविकोपार्जनमा सहयोग पुग्ने बताइन् । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै आफूले पहिलो पटक भैँसी पाएकाले भैँसी पालनलाई आगामी दिनमा व्यवसायीक बनाउने योजना रहेको बताइन् ।

अर्की किसान पूजा देवी विकले सहकारीले भैँसी दिएकोमा धेरै खुसी लागेको बताइन । उनले भैँसी पालनबाट आफ्नो आम्दानी बढ्ने अपेक्षा गरेको बताइन । माइतीघरमा हुँदा भैँसी पालेको अनुभव आफूसँग भएको बताउँदै उनले अहिले सहकारीबाट भैँसी पाए पनि सोही अनुभव सदुपयोग गरेर भैँसी पाल्ने बताइन् ।

सहकारीले यसअघि २०७९ चैत्रमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीकै ५० प्रतिशत अनुदानमा १४ वटा भैँसी र एक राँगो वितरण गरेको थियो । सहकारीले हाल खुर्सानी खेतीको कार्यक्रम, गोठे मल सुधार कार्यक्रम लगायतका कृषिका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । साभार अत्तरिया अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply