कञ्चनपुरमा माओवादी अभियान: प्रचण्डसहितका नेताहरु पुनर्वासमा मर्निङ वाकमा

हेमा भट्ट
कञ्चनपुर, १७ वैशाख — नेकपा (माओवादी केन्द्र) को जनताको घरदैलो अभियान अन्तर्गत कञ्चनपुरमा विविध कार्यक्रमसहित अभियान सञ्चालन गरिएको छ। पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु पुनर्वासमा बिहानै मर्निङ वाकमा सहभागी भएका थिए।

मंगलबारबाट शुरु भएको अभियान बुधबार दिनभर सञ्चालन हुने बताइएको छ। पुनर्वास, बेलौरी, बेलडाँडी, बेदकोट र भीमदत्त नगरपालिकामा जनसंवादमूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

पूर्वी नेपाल झापाबाट सुरु भएको अभियान सुदूरपश्चिम प्रदेश हुँदै सोमबार कैलाली पुगेको थियो। मंगलबार कैलालीमा कार्यक्रम सम्पन्न गरी साँझ कञ्चनपुर प्रवेश गरिएको हो।

हुलाकी राजमार्ग केन्द्रित यस अभियानमा जनतासँग प्रत्यक्ष संवाद, सहिद परिवारसँग भेटघाट, अन्तरक्रिया तथा विविध सार्वजनिक कार्यक्रम समावेश गरिएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट ‘सरल’ का अनुसार टीकापुरको सेती कर्णाली पुलदेखि स्वागत गर्दै अभियान शुरु गरिएको हो। झुंगा, बैसनपुर, धनगढी, डोकेबजार हुँदै अभियान टोली कञ्चनपुर प्रवेश गरेको छ।

१६ वैशाखमा डोकेबजारबाट कञ्चनपुर प्रवेश गरेको टोलीले पुनर्वास नगरपालिकामा स्वागत तथा छलफल, मोतीबस्तीमा सहिद परिवारसँग भेट, रामनगरमा खानेपानी आयोजनाको उद्घाटन, सालिकमा माल्यार्पण, शोभाताल अवलोकन लगायत कार्यक्रम सम्पन्न गर्दै संविधान चोक, महेन्द्रनगरमा अभियानको समापनसभा गर्ने जनाएको छ।

नेकपा माओवादी केन्द्र कञ्चनपुर संयोजक खेमराज पाण्डेयले अभियानको सफल आयोजनाका लागि स्थानीय समिति तथा कार्यकर्ताहरू चरणबद्ध रूपमा सक्रिय रहेको जानकारी दिए।

उनले भने, “पार्टी अध्यक्षको नेतृत्वमा भइरहेको अभियान हाम्रो जिल्लामा सफल समापनका लागि सबै कार्यकर्ताहरू जिम्मेवारीअनुसार खटिएका छन्।”

सुदूरपश्चिम इन्चार्ज गिरीराजमणि पोखरेल सहित प्रदेश तथा दुबै जिल्लाका नेता कार्यकर्ताहरू अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन्।

पार्टीले जनतालाई प्रत्यक्ष संवादको माध्यमबाट समेट्ने उद्देश्यसहित सुरु गरेको अभियानले स्थानीयमा उत्साह सिर्जना गरेको छ। हुलाकी राजमार्ग केन्द्रित अभियान सकिएपछि अब मध्य पहाडी राजमार्गमा पनि अभियान विस्तार गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply