वैशाख १८ धनगढी
कंचनपुर, कृष्णपुर — नेपाली सेनाले यस वर्ष कंचनपुरको कृष्णपुर नगरपालिका–२ स्थित श्री उदय माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (NCC) तालिम प्रदान गर्ने भएको छ। राष्ट्रप्रेम, अनुशासन, विपद् व्यवस्थापन, तथा लागुऔषध दुरुपयोग न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष नेपाली सेनाले विद्यालयस्तरीय NCC तालिम सञ्चालन गर्दै आएको छ।
यो तालिम आगामी २०८२ जेठ २५ गतेदेखि श्री श्रीदल गुल्म, भगतपुर, भीमदत्तनगरस्थित ब्यारेकबाट सुरु गरिनेछ। तालिमको जानकारी साहित्यकार तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जन श्री (दिपेन्द्र पाल)ले दिएका हुन्। उनका अनुसार तालिमले विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक सैन्य ज्ञान प्रदान गर्नेछ, जसले असल नागरिक निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।


छनोट प्रक्रिया र मापदण्ड
एनसीसी तालिमको लागि १४ देखि १६ वर्ष उमेर समूहका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी छनोट गरिने छन्। छात्रको न्यूनतम उचाई ५ फिट र छात्राको ४.१० फिट हुनुपर्नेछ। यसका अतिरिक्त स्वास्थ्य परीक्षण अनिवार्य छ। विद्यालयका प्रधानाध्यापक श्री बम्मन रानाका अनुसार विद्यालयसँग आवश्यक शारीरिक योग्यतायुक्त जनशक्ति उपलब्ध छ।


कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउँदका अनुसार यस वर्ष कृष्णपुर क्षेत्रबाट प्राप्त विभिन्न विद्यालयको निवेदनमध्ये श्री उदय मावि मात्र छनोटमा परेको छ।
तालिम संरचना
एनसीसी तालिम दुई चरणमा विभाजित हुन्छ:
संस्थागत तालिम (७९ दिन): विद्यालयमै सञ्चालन हुने यो चरणमा एरोबिक्स, मास पीटी, तेक्वान्दो, खुकुरी ड्रिल, र नक्सा अध्ययन समावेश छन्।


क्याम्प तालिम (२१ दिन): मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर वा बाँकेको कोहलपुरमा हुने क्याम्पमा खोज उद्धार, भिडमा बोल्ने कला, र नेतृत्व विकासको तालिम दिइन्छ। सिनियर डिभिजनमा हतियार तालिम, घोडचढी, हाइकिङ, रक क्लाइम्बिङ, स्विमिङ जस्ता सीप पनि समावेश गरिन्छ।
उल्लेखनीय उपलब्धि र अवसरहरू
उल्लेखनीय नतिजा ल्याउने क्याडेट तथा विद्यालयलाई राष्ट्रिय स्तरमा शिल्ड, मेडल र पुरस्कार प्रदान गरिन्छ। साथै भारत, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र पाकिस्तानमा आयोजना हुने अन्तरराष्ट्रिय युवा आदान–प्रदान कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त हुन्छ।
श्री उदय माविका PTA सदस्य तथा भूपू नेपाली सैनिक दिनेश पाण्डेका अनुसार, यो तालिमले समाजमा दैविक प्रकोप व्यवस्थापन र लागुऔषध नियन्त्रणमा समेत सहयोग पुर्याउँदै आएको छ। उदय मावि पछिल्लो समय राष्ट्रपतिको रनिङ शिल्ड लगायत विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गर्ने विद्यालयका रूपमा स्थापित भइसकेको छ।


इतिहास र योगदान
वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म करिब एक लाख विद्यार्थीलाई तालिम प्रदान गरिसकेको छ। संघीय गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत वि.सं. २०२८ मा यो तालिम लिएका थिए।




