वैशाख २० धनगढी
हेमा भट्ट
रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (RADICAL ACADEMY OF SCIENCE AND TECHNOLOGY) को आयोजनामा चौथो संस्करणको SEE Idol – नृत्य तथा गायन प्रतियोगिता अन्तर्गत सेमिफाइनल चरण सुरु भएको छ। प्रतियोगिता सुदूरपश्चिम प्रदेशस्तरीय रूपमा सञ्चालन भइरहेको छ, जसमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उत्कृष्ट प्रतिभाहरूले भाग लिइरहेका छन्।


सेमिफाइनल चरण धनगढीस्थित पउवा होटल मा भव्य रूपमा सुरु गरिएको हो। यस चरणमा प्रारम्भिक छनौटबाट अघि बढेका प्रतिस्पर्धीहरू बीच कडा प्रतिस्पर्धा देखिएको छ। सहभागीहरूले नृत्य तथा गायन विधामा आ–आफ्नो क्षमता प्रस्तुत गर्दै निर्णायक तथा दर्शकहरूलाई प्रभावित पारेका छन्।
प्रतियोगिताको उद्देश्य स्थानीय स्तरमा रहेका प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने हो। आयोजक संस्थाका अनुसार, यो प्रतियोगिता माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर बसेका विद्यार्थीहरूका लागि प्रेरणादायक अवसर हो।


कार्यक्रममा निर्णायकहरूको प्यानलमा सुदूरपश्चिमका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको छ भने, सहभागीहरूको मूल्याङ्कन कला, प्रस्तुति, सन्देश तथा सिर्जनशीलता आधारमा गरिने जानकारी आयोजकले दिएका छन्।
अन्तिम चरण (फाइनल) का लागि सेमिफाइनलबाट उत्कृष्ट सहभागीहरू छानिनेछन्। प्रतियोगिता अन्त्यमा विजेताहरूलाई पुरस्कारसहित सम्मान गरिनेछ।



