बैशाख २७ धनगढी
सुदूरपश्चिम प्रदेशमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध विरोधको स्वर तीव्र बनेको छ। नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश कार्यसमितिले सरकारले गरेको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ।
घेदुङले आफ्नो प्रेस विज्ञप्तिमा घिसिङलाई “लोडसेडिङ अन्त्य गर्ने ऐतिहासिक योगदानकर्ता” भनेर उल्लेख गर्दै बर्खास्तीलाई “नियोजित षड्यन्त्र र जनविरोधी कार्य” को संज्ञा दिएको छ।
“१८ घण्टासम्म अँध्यारोमा थुनिएको देश उज्यालो बनाउन जसले भूमिका खेले, उसलाई हटाउनु राष्ट्रकै क्षति हो,” विज्ञप्तिमा भनिएको छ।
ऊर्जा मन्त्री दीपक खड्काले संसदमा दिएको “लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ” भन्ने अभिव्यक्तिलाई समेत संगठनले “तथ्यहीन र हास्यास्पद” भन्दै आलोचना गरेको छ।
संगठनका कार्यवाहक अध्यक्ष भीमलाल मोक्तानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नाफामा रूपान्तरण भएको विद्युत प्राधिकरणको सफल नेतृत्व हटाइनु सत्ताको लाजमर्दो निर्णय हो। सरकारलाई यो निर्णय तत्काल फिर्ता लिन र कुलमान घिसिङलाई पुनः जिम्मेवारी दिन चेतावनी दिइन्छ।”
संगठनले सुदूरपश्चिमका नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूलाई सरकारको यस्तो जनविरोधी कदमविरुद्ध एकजुट भई आवाज उठाउन अपिल गरेको छ।
