हेमा भट्ट
२८ बैशाख २०८२
कृष्णपुर– श्री राष्ट्रिय माध्यमिक विद्यालय, कृष्णपुर नगरपालिका–७, कलुवापुर आज शोकमा डुबेको छ। करिब दुई दशकदेखि शिक्षण सेवामा समर्पित रहनुभएका आदर्श शिक्षक श्री विर बहादुर बोगटीको असामयिक निधनले सम्पूर्ण विद्यालय परिवार स्तब्ध र भावुक बनेको छ।
वि.सं. २०६५ सालदेखि निरन्तर अध्यापन गराउँदै आउनुभएका बोगटी सर निष्ठावान, मिहिनेती, विद्यार्थीमैत्री र सधैं सहयोगका लागि तत्पर शिक्षक हुनुहुन्थ्यो। उहाँको सादा जीवन, उच्च सोच र विद्यार्थीहरूप्रतिको अपार माया–समर्पण आज पनि हजारौं विद्यार्थीको मनमा अंकित छ। उहाँको अनुपस्थितिले विद्यालय परिसर सुनसान, रून लागेको जस्तो महसुस गरिएको छ।
आज आयोजित शोक सभामा शिक्षक, अभिभावक, विद्यार्थीहरू आँखा रसाएर उहाँलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रम निकै भावुक बनेको थियो—विद्यार्थीहरूले आँसु झार्दै “हाम्रो प्रिय सर गुमायौं” भन्ने पीडा पोखिरहेका थिए। शिक्षक साथीहरू उहाँको व्यवहार, योगदान र मित्रताप्रति कृतज्ञ हुँदै मौन धारणमा बसिरहेका थिए।
विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले शिक्षक बोगटीको निधनलाई विद्यालयका लागि अपूरणीय क्षति भएको भन्दै उहाँको सम्झना सदैव जीवित रहने उल्लेख गरे।
“शिक्षक बोगटीजस्तो मान्छे यो संसारमा विरलै जन्मन्छन्,” एकजना शिक्षकको भनाइ थियो।
विद्यालय परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। शब्दहरू नपुग्ने पीडा छ आज — शिक्षालयले केवल एक शिक्षक होइन, एउटा प्रेरणादायी आत्मा गुमायो।
