थारु समुदायका भलमन्सा र पधनलाई अयोध्या तिर्थयात्रामा पठाइयो

हेमा भट्ट
कञ्चनपुर, कृष्णपुर — कृष्णपुर नगरपालिकाले थारु समुदायका भलमन्सा र पधनहरूलाई भारतको अयोध्यामा तिर्थयात्राका लागि पठाएको छ। नगरपालिका र विश्व हिन्दु परिषद् नेपालको सहकार्यमा ८१ जना भलमन्सा र पधनलाई चारदिने धार्मिक भ्रमणमा सहभागी गराइएको हो।

अयोध्यास्थित भगवान श्रीरामको जन्मस्थल भ्रमणसँगै टोलीले बाटोमा पर्ने अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू समेत अवलोकन गर्नेछ। टोलीमा हिन्दु तथा क्रिस्चियन धर्म मान्ने दुवै समुहका व्यक्तिहरू सहभागी छन्। हिन्दु धर्म मान्नेहरूलाई तिर्थयात्राको रूपमा र क्रिस्चियन धर्म मान्नेहरूलाई पर्यटकीय भ्रमणका रूपमा व्यवस्थापन गरिएको नगर प्रमुख भुपेन्द्र ओझाले जानकारी दिनुभयो।

भ्रमण टोलीको संयोजन नगर उपप्रमुख द्रोपती रानाले गर्नुभएको हो। नगरपालिकाले यातायात, प्राथमिक उपचार तथा अन्य आधारभूत सुविधाहरूको व्यवस्था गरेको छ भने विश्व हिन्दु परिषद्ले खानपान तथा बसोबासको जिम्मा लिएको छ।

टोलीमा उपप्रमुख राना, जिल्ला समन्वय समिति कञ्चनपुरकी प्रमुख रामकुमारी राना, वडा नं. ५ का अध्यक्ष टेक पाण्डेय लगायतको सहभागिता रहेको छ।

नगर प्रमुख ओझाका अनुसार यस प्रकारको भ्रमणले भलमन्सा र पधनहरूको नेतृत्व क्षमतामा अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। भ्रमणबाट फर्केपछि प्राप्त अनुभव र असल अभ्यासहरूलाई समाजमा लागू गर्दै थप सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिइएको छ।

नगरपालिकाले भलमन्सा र पधनहरूको योगदानलाई सम्मान गर्दै पहिलो पटक यस्तो किसिमको भ्रमण आयोजना गरेको हो। सामाजिक संरचनाअनुसार भलमन्साहरू गाउँको नेतृत्व, न्यायिक निर्णय, विवाह समन्वय र विकासमा जनसहभागिता जुटाउने जिम्मेवारीमा संलग्न हुने भएकाले यस्तो अवसरले उनीहरूको भूमिका थप प्रभावकारी हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply