धनगढी, बैशाख ३० — थारू समुदायको परम्परागत धार्मिक तथा सांस्कृतिक संरचना देउठन्वा को संरक्षण आवश्यक रहेकोमा सरोकारवाला व्यक्तिहरूले जोड दिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको पर्यटन विकास कार्यान्वयन एकाइको सहयोगमा संघारी मल्टिपल सर्भिस एन्ड रिसर्च प्रालिले मंगलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य गीता चौधरीले देउठन्वा थारू समुदायको मौलिक संस्कृति र परम्पराको प्रतीक भएकाले यसको जगेर्ना अत्यावश्यक रहेको बताइन्। उनले भौतिक संरचना मासिँदै गएको र पछिल्लो समय देउठन्वा नबनाउने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिन्।
“देउठन्वामा थारू समुदायका विभिन्न कुलदेवता विराजमान हुन्छन् र संस्कारअनुसार पूजा गरिन्छ। यसको संरक्षणमा प्रदेश सरकारले पहल गर्नुपर्नेछ,” चौधरीले भनिन्।
थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य पुरन चौधरीले देउठन्वाको संरक्षण राज्यको दायित्व रहेको उल्लेख गरे। कञ्चनपुरका सभापति सानु चौधरीले निर्माण भइरहेको देउठन्वा संरचना थारू परम्पराको मौलिकता विपरीत भएको भन्दै मरुवा शैलीमा निर्माण गर्न आग्रह गरिन्।
नेपाल पत्रकार महासंघका प्रदेश महासचिव शिवराज भट्टले धार्मिक मान्यता र मूल्य हराउँदै गएकाले देउठन्वाजस्ता मौलिक संरचनाको संरक्षण आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा संघारीका अध्यक्ष उन्नती चौधरीको अध्यक्षता रहेको थियो भने रिसर्चर शेखर दहित र थारू नागरिक समाजका दिलबहादुर चौधरीले देउठन्वाको ऐतिहासिक महत्व र विशेषता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि रिसर्चर इन्दु थारुले टिप्पणी गरेकी थिइन्।
