दोधाराचाँदनी, कञ्चनपुर – ७ जेठ
कञ्चनपुरको दोधाराचाँदनीस्थित सुक्खा बन्दरगाह निर्माणस्थलबाट छपान गरिएका १०९ वटा रुख गायब भएको खुलेको छ। गौरीशंकर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ४२ हेक्टर जग्गामा बन्न लागेको बन्दरगाहका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जीपीएस विधिबाट छपान गरेको १७०२ रुखमध्ये कटानी अघि नै १०९ वटा रुख भेटिन छाडेका हुन्।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेले ४० रुख र ६९ पोल हराएको जानकारी दिएका छन्। चोरी तस्करी, अन्त्येष्टिका लागि प्रयोग, तथा बन्यजन्तुको गतिविधिका कारण रुख हराएको आशंका गरिएको छ।
निकुञ्जले हालसम्म ९२ क्युफिट काठसहित तीन जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। यता स्थानीयहरूले भने सो घटनामा मिलेमतोको सम्भावना रहेको भन्दै विस्तृत छानबिनको माग गरेका छन्।
गौरीशंकर सामुदायिक वनका अध्यक्ष दामोदर भट्ट र नगर प्रमुख किशोर कुमार लिम्बुले आफूहरू अनभिज्ञ रहेको भन्दै चासो व्यक्त गरेका छन्। योजनाको सुरुआतमै काठ हराउनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ।
सन् २००८ मा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण परियोजना भारतसँगको समझदारीपछि कार्यान्वयन चरणमा पुगेको हो। भारतले आफ्नो पक्षको संरचना बनाइसकेको छ भने नेपालले क्षेत्र खाली गराउने काम सुरु गरेको छ।
