सरस्वती सुनार, १० बैशाख २०८२,
कञ्चनपुर- कृष्णपुर नगरपालिका–९ स्थित श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूहले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने विशेष गोष्ठीको आयोजना गरेको छ। समूहको वार्षिक कार्ययोजनाअन्तर्गत युवामुखी कार्यक्रमका रूपमा २०७९ बैशाख १० गते सम्पन्न उक्त कार्यक्रम सामुदायिक सहभागिताको दृष्टिकोणले अत्यन्तै सफल रहेको आयोजकले बताएका छन्।


समूहका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ९ की वडा सदस्य मोली राना प्रमुख अतिथि रहनुभएको थियो। साथै, विशिष्ट अतिथिका रूपमा प्रशिक्षक मोहन भाट, रैकवार विचवा प्रहरी चौकीका प्रमुख देब बहादुर चन्द तथा पुनाराम चौधरीको समेत सहभागिता थियो।
प्रमुख अतिथि रानाले युवापुस्तालाई समयमै सही दिशा र परामर्श नदिँदा लागुऔषधको चपेटामा फस्ने अवस्था उत्पन्न भएको बताउँदै परिवार र समाज दुवैले सजग भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। विशिष्ट अतिथि चौधरीले युवाहरूलाई सामाजिक विकृतिबाट जोगाउन स्थानीय सरकार, विद्यालय, परिवार र समुदायबीच सशक्त सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रहरी प्रमुख देब बहादुर चन्दले सामाजिक समस्याको दीर्घकालीन समाधानका लागि प्रहरीको मात्र प्रयास पर्याप्त नहुने बताउँदै अभिभावक, विद्यालय र समाजकै सशक्त सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँको प्रस्तुत सुझावहरू मार्मिक र यथार्थपरक थिए।


कार्यक्रममा अध्यक्ष भण्डारीले सामुदायिक वनले युवालाई मार्गदर्शन गर्न अग्रसर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै गाजा, चरेस, चुरोटजस्ता पदार्थको प्रयोग गाउँघरमै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। सोही सन्दर्भमा बालबालिका, अभिभावक र युवालाई लक्षित गरी यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो।
प्रशिक्षक प्रेम ढुङ्गाना र मन्जु खनालले लागुऔषधका दुष्प्रभाव, रोकथामका उपाय तथा समुदायको भूमिकाबारेमा विस्तृत प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा महिला, युवा, बालबालिका र अन्य समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सामुदायिक वन समितिका पदाधिकारी, सल्लाहकार र अन्य सरोकारवाला निकायहरूको सक्रियताले कार्यक्रम सफल भएको आयोजक पक्षले जनाएको छ।
यसैबीच, वन क्षेत्रमा अवस्थित टुप्पा ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले यसलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्न सकिने सम्भावनासमेत उजागर गरिएको छ। वन संरक्षण र वातावरणीय चेतनाका सन्देशहरू फैलाउने यस्ता कार्यक्रमले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास लिइएको छ।




